images
images

रास्वपा महाधिवेशनमा श्रम संस्कृतिका कोही नआउने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा श्रम संस्कृति पार्टीबाट कोही पनि सहभागी नहुने भएका छन् ।

आज (असार ७) चितवनको भरतपुरमा हुने उद्घाटनसत्रमा उपस्थितिका निम्ति रास्वपाले श्रम संस्कृतिलाई पनि निम्ता पठाएको थियो । तर, व्यस्तताका कारण आउन नभ्याउने सांसद आरेन राईले बताए ।

“निम्ता आएको हो, हामी व्यस्त भएकाले नजाने भयौँ,” उनले भने ।

महाधिवेशन उद्घाटनसत्रमा नेपाली कांग्रेसबाट नेत्री पुष्पा भुसाल, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट वर्षमान पुन उपस्थित हुनेछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने तय छ ।

रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्ष/सभापतिलाई निम्ता पठाएको थियो । तर, कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता सहभागी हुन लागेका हुन् ।

रास्वपा महाधिवेशन भरतपुरमा आजदेखि सुरु हुँदै छ । महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ ।