images
images

गगनको शुभकामना : रास्वपाको महाधिवेशन दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने अवसर भएको बताएका छन् ।

रास्वपाको महाधिवेशन आदेखि चितवनमा सुरु हुँदै छ । सोही अवसरमा शुभकामना दिँदै थापाले यस्तो उल्लेख गरेका हुन् । “यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो,” थापाले फेसबुकमा लेखेका छन् ।

 

पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको भन्दै थापाले रस्वपाका सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् ।

“पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ,” थापाले लेखेका छन्, “तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ ।”

थापाले महाधिवेशन सफलताको कामना पनि गरेका छन् । “यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु,” उनले भनेका छन् ।