काठमाडौँ – राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’अन्तर्गत हालसम्म ९१ दशमलव ६ प्रतिशत गणना सम्पन्न भएको जनाएको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले आर्थिक गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो।
कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले गणना अवधिभर देशभरका गणकले स्थलगत तथ्यांक संकलन गरी हालसम्म १३ लाख ४४ हजार ५ सयभन्दा बढी कागजी फारम र ६ हजार ६ सय ६७ वटा इ–सेन्सस टोकनमार्फत व्यवसायिक विवरण संकलन गरेको जानकारी दिए।
यसअघि सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणना–२०७५ मा ९ लाख १७ हजार ४ सय ७० वटा कागजी प्रश्नावली र ५ हजार ८८६ वटा इ–सेन्सस प्रश्नावली गरी कुल ९ लाख २३ हजार ३ सय ५६ वटा प्रतिष्ठानको व्यावसायिक विवरण संकलन गरिएको थियो।
कार्यालयका प्रमुख तथ्यांक अधिकारी कमलप्रसाद पोख्रेलले आर्थिक गणनाको प्रक्रियामा रहेका सबै कार्यहरु असार मसान्तसम्म सम्पन्न गरिसक्ने बताए।
उनका अनुसार गणनामा १४ लाख २५ हजार आर्थिक प्रतिष्ठानको तथ्यांक संकलन लक्ष्य राखिएको थियो। गणनामा सहभागी हुन फारम लगेको सबै प्रतिष्ठानहरुलाई बाँकी प्रक्रिया पूरा गरी यही असार मसान्तसम्म कार्यालयमा फारम बुझाइदिन आग्रहसमेत गरे।









