काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जारी महाधिवेशनलाई केवल औपचारिकतामा मात्र सीमित नराखी देशको भविष्य दिशानिर्देश गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।
चितवनमा सञ्चालित पार्टीको बन्दसत्रलाई सम्बोधन गर्दै उनले विगतको उपलब्धिलाई प्रशंसामा मात्र सीमित नगरी परिणाममा बदल्नुपर्नेमा जोड दिएका हुन्। सभापति लामिछानेले विभिन्न क्षेत्र र पृष्ठभूमिबाट आएका व्यक्तिहरूको एकताबाट रास्वपा निर्माण भएको चर्चा गर्दै हिजोको जनलहरलाई अब वैज्ञानिक र ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए।
विश्व राजनीतिक इतिहासमा पहिलो महाधिवेशनअगावै सरकारमा सहभागी हुने अवसर पाउनु विरलै हुने घटना भएको उल्लेख गर्दै उनले अब पार्टीसामु दुईवटा विकल्प रहेको बताए। उनका अनुसार पहिलो विकल्प उपलब्धिलाई लिएर खुशी मनाउने मात्र हो भने दोस्रो विकल्प यसलाई सार्थक परिणाममा बदल्ने हो।
उनले फरक परिणाम प्राप्त गर्न पुरानो कार्यशैली र चरित्र त्यागेर नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। नेतृत्व चयनका सन्दर्भमा प्रतिनिधिहरूलाई सचेत गराउँदै सभापति लामिछानेले कसैको दबाब वा प्रभावमा नपरी स्वविवेक प्रयोग गर्न आग्रह गरे।
पार्टीभित्र मन्त्री चयन वा जिम्मेवारी बाँडफाँटका विषयमा बाहिर आएका चर्चाको खण्डन गर्दै उनले यसबारे हालसम्म कुनै पनि औपचारिक निर्णय नभएको स्पष्ट पारे। सबै प्रतिनिधिहरू नेतृत्वका लागि योग्य रहेको र कसैलाई मतदान गर्न पार्टीले कुनै प्रकारको उर्दी जारी नगरेको उनको भनाइ थियो।
उनले भने, ‘हामीले देखेको सपनालाई वास्तविकतामा ढाल्ने यो महाधिवेशन हाम्रो राजनीतिक जीवन र देशको भविष्यका लागि एउटा महान् अवसर हो। प्रतिनिधि हुनु भनेको कसैले भनिदिएका भरमा भोट हाल्ने लालमोहर वा औँठाछाप बन्नु होइन। हामी पुरानो प्रवृत्तिविरुद्ध विद्रोह गरेर यहाँ आएका हौँ, त्यसैले तपाईंहरू देश र पार्टीप्रति उत्तरदायी बन्नुपर्छ।’
सम्बोधनका क्रममा लामिछानेले आफूलाई यस प्रक्रियामा एक ‘पर्यवेक्षक’का रूपमा मात्र राखेको बताउँदै जसले जिते पनि उनीहरू आफ्नै परिवारको सदस्य हुने विश्वास व्यक्त गरे। उनले कार्यकर्ताको त्याग र मेहनतको उच्च कदर गर्दै विवेकपूर्ण ढङ्गले सक्षम नेतृत्व छनोट गरी पार्टीलाई थप शक्तिशाली बनाउन अपिलसमेत गरे।








