काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन्।
मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले बाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले बताएका हुन्।
सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको भनाइ थियो।
उनले भने, ‘हाम्रो स्वतन्तत्रतामाथि नै असर परिरहेको छ। किनकि बाहिरका मानिसहरुले सबै चिज कब्जा गरिहाले र उनीहरूको चित्त बुझाउने गरी सारा काम भइरहेको छ। हामी त त्यसमा कहीँ पनि पर्दै पर्दैनौँ। हामी यो देशका नागरिक हौँ। हाम्रो चित्त बुझाउने किसिमको, हाम्रो भलाई हुने किसिमको काम हाम्रो सरकार भए न हुने हो। यो त हाम्रो सरकार नै छैन। यो बाहिरवालाको सरकार हो। बाहिरवालाले त यो सरकारलाई वाहवाही दिइरहेको नै छ नि।’








