images
images

क्रिकेटका पुर्वकप्तान मल्लको प्रस्तावमा केन्द्रिय सदस्य उम्मेदवार बने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेल

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो । केन्द्रीय सदस्यका प्रत्याशी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र रहनुभएको छ भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् ।

उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो,“रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु”, मन्त्री पोखरेलले भन्नुभयो ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका पोखरेल रास्वपाकोतर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
निर्वाचनकै समयमा ‘हट सिट’ का प्रतिस्पर्धी पोखरेल निर्वाचन अभियान शैलीलाई लिएर सञ्चार माध्यम तथा सामाजिक सञ्चालनमा चर्चामा हुनुहुन्थ्यो ।
नेपाल सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पोखरेल विषयवस्तुको गहिरो अध्ययन, स्पष्ट दृष्टिकोण र शालीन प्रस्तुतिले सबैमाझ लोकप्रियता हासिल गर्नुभएको छ ।

उहाँ मुलुकको शिक्षा क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी शिक्षामा प्रविधिको उच्चतम अभ्यास अवलम्बन गरी स्वदेशमै गुणस्तरीय र रोजगारमुखी, व्यवहारिक शिक्षाको सुनिश्चितताका लागि प्रयत्नशील हुनुहुन्छ ।

मन्त्री पोखरेल यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख हालका प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा काम गर्नुभएको थियो ।

रास्वपाको महाधिवेशन अन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।