images
images

कागजको मतपत्र विस्थापित गर्दै रास्वपा: ८० भोटिङ मेसिन र २ घण्टामै नतिजाको दाबी

चितवन -राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग ल्याउँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन यतिबेला चितवनमा जारी छ।

परम्परागत राजनीतिक दलहरूभन्दा फरक धार र प्रविधिमैत्री छवि बनाउन प्रयासरत रास्वपाले आफ्नो केन्द्रीय नेतृत्व चयनका लागि पनि प्रविधिलाई नै मुख्य हतियार बनाएको छ। आज हुने केन्द्रीय समितिको निर्वाचनमा रास्वपाले कागजको मतपत्र विस्थापित गर्दै ८० वटा आधुनिक विद्युतीय उपकरण (भोटिङ मेसिन) मार्फत मतदान गराउने तयारी पूरा गरेको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार निर्वाचनलाई पूर्ण रूपमा प्रविधिमैत्री, पारदर्शी र छरितो बनाउन यो कदम चालिएको हो। उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनलगत्तै ती विद्युतीय उपकरणहरूमा उम्मेदवारको नाम र तस्बिरसहितको डिजिटल मतपत्र दायाँबायाँ मिलाएर राखिनेछ। मतदाताले उम्मेदवारको तस्बीर र नाममा सिधै छोएर आफ्नो मतदान गर्न सक्नेछन्।

मध्याह्नदेखि नै पहिलो चरणको मतदान शुरु गर्ने लक्ष्यका साथ निर्वाचन टोली अहोरात्र खटिएको छ। पहिलोपटक यति ठूलो सङ्ख्यामा विद्युतीय उपकरण प्रयोग हुन लागेकाले मतदाताहरू अन्योलमा नपरून् भन्नका लागि ५ वटा उपकरण त नमुना मतदानका निम्ति मात्रै छुट्याइएको छ, जहाँ प्रतिनिधिहरूले मतदान गर्नुअघि अभ्यास गर्न पाउनेछन्।

यो निर्वाचन रास्वपाका लागि प्रविधिको परीक्षण मात्र होइन, आन्तरिक व्यवस्थापनको कडा परीक्षा पनि बन्ने देखिएको छ। पहिलो चरणमा जम्मा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ, तर आकांक्षीहरूको सङ्ख्या भने ४०० भन्दा बढी छ।
रास्वपाले अवलम्बन गरेको नयाँ विधानअनुसार विभिन्न क्लस्टरबाट पनि अनिवार्य रूपमा उम्मेदवारहरू कायम गरिएको छ। फरक–फरक विधा र क्लस्टरका कारण एउटै मतदाताले धेरै विधामा मत रोज्नुपर्ने भएकाले मतदान प्रक्रिया अनुमान गरिएभन्दा बढी जटिल र अतिरिक्त समय लाग्ने प्राविधिकहरूको विश्लेषण छ।

परम्परागत दलहरूको महाधिवेशनमा मतगणना सकिन हप्तौँ लाग्ने र अनेकौँ विवाद उत्पन्न हुने परिपाटीलाई चुनौती दिँदै रास्वपाले फास्ट ट्र्याक नतिजाको दाबी गरेको छ। रास्वपा निर्वाचन आयोगका अनुसार डिजिटल प्रणाली भएकाले मतदान प्रक्रिया पूर्णरूपमा सम्पन्न भएको बढीमा दुई घण्टाभित्रै आधिकारिक मतपरिणाम सार्वजनिक गरिनेछ।

डिजिटल प्रणालीको यो प्रयोगले रास्वपाको आन्तरिक लोकतन्त्रलाई कत्तिको बलियो र विवादरहित बनाउँछ, त्यो भने निर्वाचनको परिणाम र त्यसपछिको व्यवस्थापनले नै स्पष्ट पार्नेछ।