images
images

रास्वपा महाधिवेशन: केन्द्रीय समिति निर्वाचनका लागि ९ मन्त्रीसहित ३८४ जनाको उम्मेदवारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ।

महाधिवेशनमार्फत नयाँ केन्द्रीय समिति चयन गर्न निर्वाचन प्रक्रिया अघि बढाइएको रास्वपाले जनाएको छ।

सार्वजनिक प्रारम्भिक सूची अनुसार केन्द्रीय समितिका विभिन्न क्लस्टर र पदहरूका लागि कुल ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

केन्द्रीय समितिको यस निर्वाचनमा वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले समेत विभिन्न विधा र क्लस्टरबाट उम्मेदवारी दिएका छन्।

जसअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट र परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम दुवैले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिएका छन्, जसमा श्रेष्ठले बागमती प्रदेश खुलातर्फ प्रतिस्पर्धा गर्दैछन्।

यसैगरी, भौगोलिक तथा समावेशी क्लस्टरतर्फबाट पनि विभिन्न मन्त्रीहरू चुनावी मैदानमा उत्रिएका छन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फबाट उम्मेदवारी दिएका छन्।

खुला तथा अन्य क्लस्टरतर्फ शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यमा, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका रास्वपाले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उल्लेख छ।