गोरखा — गोरखा नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड २४ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न १९औँ नगरसभामा उपप्रमुख मसलीमाया थोकर ले बजेट प्रस्तुत गरेकी हुन्।
नगरपालिकाका अनुसार बजेटको आयतर्फ संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, ८ करोड ९६ लाख १३ हजार रुपैयाँ आन्तरिक आय तथा १३ करोड रुपैयाँ नगद मौज्दात समावेश गरिएको छ।
खर्चतर्फ सशर्त अनुदानका लागि ३९ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने वडा कार्यालय सञ्चालन तथा स्थानीय विकास योजनाका लागि १४ करोड रुपैयाँ छुट्याइएको छ। प्रशासनिक तथा पुँजीगत खर्चतर्फ २० करोड रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेको छ। शिक्षा क्षेत्रमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ भने स्वास्थ्य तथा आयुर्वेद सेवाका लागि १ करोड ७० लाख रुपैयाँ छुट्याइएको छ।
त्यसैगरी सामाजिक विकास क्षेत्रमा १ करोड ६० लाख, कृषि तथा पशु विकासमा १ करोड २० लाख, न्यायिक समिति तथा उपप्रमुख नेतृत्व विकास कार्यक्रममा ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ। वन संरक्षण तथा विपद् व्यवस्थापनका लागि ६० लाख र सुशासन प्रवर्द्धन कार्यक्रमका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, सेवा प्रवाह सुधार, कृषि उत्पादन वृद्धि तथा सामाजिक क्षेत्रको सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गर्ने जनाएको छ।







