images
images

पालुङटार नगरपालिकाद्वारा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत, कृषि र शिक्षा उच्च प्राथमिकतामा

पालुङटार, असार २० — गोरखाको पालुङटार नगरपालिका ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा वातावरण संरक्षणलाई केन्द्रमा राख्दै वार्षिक बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १३औँ नगरसभामा नगर उपप्रमुख बन्दना पाण्डे भुजेलले प्रस्तुत गरेको बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त अनुदान तथा राजस्व बाँडफाँटमार्फत करिब रु. ६५ करोड २० लाख २४ हजार प्राप्त हुने अनुमान गरिएको छ। यस्तै गण्डकी प्रदेश सरकारबाट रु. ४ करोड ६७ लाख ५५ हजार प्राप्त हुने अपेक्षा गरिएको छ। नगरपालिकाले आन्तरिक स्रोतबाट रु. ४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ भने बजेटमा रु. ६ करोड ऋण व्यवस्थापन समेत समावेश गरिएको छ।

कृषि तथा पशुपालनमा विशेष जोड
नगरपालिकाले आगामी वर्ष कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ। कृषि उत्पादनको बजारीकरण, कृषि एम्बुलेन्स सञ्चालन, सुन्तला तथा किवी खेती प्रवर्द्धन, भूमि बैंक स्थापना तथा दुग्ध उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। साथै किसानलाई दूध उत्पादनमा प्रतिलिटर रु. ३ का दरले अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ।

शिक्षाका लागि रु. २१ करोडभन्दा बढी
शिक्षा क्षेत्रको विकास तथा गुणस्तर अभिवृद्धिका लागि रु. २१ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ। यसअन्तर्गत लक्षित छात्रवृत्ति कार्यक्रम, नगरस्तरीय परीक्षा सञ्चालन, विद्यार्थी दुर्घटना बीमा तथा विपन्न र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

स्वास्थ्य क्षेत्रमा रु. ८ करोड ७७ लाख
स्वास्थ्य सेवाको पहुँच विस्तार र गुणस्तर सुधारका लागि रु. ८ करोड ७७ लाख ४० हजार बजेट छुट्याइएको छ। गाईखुर स्वास्थ्य चौकीलाई नगरस्तरीय आधारभूत अस्पतालका रूपमा सञ्चालन गर्ने, निःशुल्क औषधि वितरणलाई निरन्तरता दिने, विशेषज्ञ चिकित्सकसहित घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने तथा ‘गरिब बिरामीसँग नगरपालिका’ कार्यक्रमलाई प्रभावकारी बनाउने योजना बजेटमा समेटिएको छ।

बालमैत्री नगरपालिका अभियान
बाल अधिकार तथा बालमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिँदै पालुङटार नगरपालिकाले २०८३ साल चैत महिनाभित्र बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य लिएको छ। उक्त अभियान सफल बनाउन रु. ४० लाख बजेट विनियोजन गरिएको छ।

समृद्ध पालुङटार निर्माणको लक्ष्य
‘सम्भावनाको आधार, निर्माणको अभियान; सुन्दर र समृद्ध पालुङटार हाम्रो शान’ भन्ने नारालाई आत्मसात् गर्दै प्रस्तुत बजेटले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा दिगो पूर्वाधार निर्माणमार्फत नगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ।