चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उपसभापति पदकी उम्मेदवार समीक्षा बास्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। पार्टीलाई थप एकताबद्ध र सही दिशामा अघि बढाउने उद्देश्यले आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा बास्कोटाले “कहिलेकाहीँ संस्थालाई अझ एकताबद्ध बनाउन र सही लयमा अघि बढाउन केवल दाबी गर्नु मात्र होइन, आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुन्छ” भन्दै यही विश्वासका साथ उपसभापति पदको उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेकी छन्।
उनले रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनबाट आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार व्यक्त गर्दै पार्टी, देश र जनताको हितमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएकी छन्।







