काठमाडौं — श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजी अस्पताल, बैंक तथा वित्तीय संस्था र श्रमिक आपूर्ति (आउटसोर्सिङ) कम्पनीहरूमा श्रम कानुनको उल्लंघन भएको पाइएको भन्दै कडा निगरानी र कानुनी कारबाहीको चेतावनी दिएको छ। विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ को पूर्ण कार्यान्वयन गर्न सबै प्रतिष्ठानलाई निर्देशन दिएको हो।
विभागका अनुसार पछिल्लो अनुगमनका क्रममा निजी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा आउटसोर्सिङमार्फत कार्यरत श्रमिकलाई लामो समय काममा लगाउने, ओभरटाइमको पारिश्रमिक नदिने तथा सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको पाइएको छ। यस्तै, बैंक तथा वित्तीय संस्थामा कार्यरत सुरक्षा गार्डलगायत श्रमिकका हकमा पनि न्यूनतम पारिश्रमिक, सेवा–सुविधा र श्रम अधिकारसम्बन्धी गुनासा बढेपछि सम्बन्धित संस्थालाई कानुन कार्यान्वयन गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले श्रमिक आपूर्ति गर्ने कम्पनीले विभाग वा श्रम तथा रोजगार कार्यालयबाट अनुमति लिएर मात्र कानुनले तोकेका क्षेत्रमा श्रमिक आपूर्ति गर्न पाउने व्यवस्था रहेको स्मरण गराउँदै प्रत्येक प्रतिष्ठानले वार्षिक श्रम अडिट अनिवार्य रूपमा गराउनुपर्ने जनाएको छ।
तथ्यांकअनुसार २०८२ साउनदेखि २०८३ जेठ मसान्तसम्म ३,२६७ प्रतिष्ठानमा श्रम निरीक्षण र ३,१३७ प्रतिष्ठानमा बालश्रम निरीक्षण गरिएको छ। सोही अवधिमा ३,३९० श्रम अडिट प्रतिवेदन प्राप्त भएको विभागले जनाएको छ।
विभागका प्रवक्ता मणिनाथ गोपले श्रमसम्बन्धी प्रचलित कानुनी व्यवस्था पालना नगर्ने प्रतिष्ठानमाथि आवश्यक कानुनी कारबाही गरिने स्पष्ट पारेका छन्।







