images
images

पत्रकारलाई राेटरी जर्नाे अवार्ड २०२६ प्रदान

काठमाडौ, -रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा देशभरबाट सात जना पत्रकारलाई राेटरी जर्नाे अवार्ड २०२६ प्रदान गरिएको छ ।

शुक्रबार काठमाडौमा आयाेजित समारोहमा उनीहरूलाई नगद ५१ हजारसहित उक्त अवार्ड प्रदान गरिएको हो । सोही समारोहमा काठमाडौंमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई १ लाख १ हजार राशिकाे यज्ञप्रसाद आचार्य राेटरी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । राेटरी जर्नाे अवार्ड प्राप्त गर्नेहरूमा गाेरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथाेकी, पाल्पाका पत्रकार विजय नेपाल, सुनसरीका विकल रेग्मी, ओखलढुंगाका सराेज ढुंगेल, काठमाडौंकी उर्वसी बस्न्यात र बाँकेकी रूपा गहतराज छन् । समारोहका प्रमुख अतिथि राेटरी इन्टरनेशनल डाइरेक्टर नाेमिनी बासुदेव गाेल्यान, रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले पत्रकारलाई पुरस्कृत गरे । कैनीले आधारभूत शिक्षा, साक्षरता र डिजिटल साक्षरता विधामा, बुढाथोकीले मातृ तथा शिशु स्वास्थ्य विधामा, नेपालले सामुदायिक र आर्थिक विकासमा, रेग्मीले खानेपानी, सरसफाइ र स्वच्छतातर्फ, ढुंगेलले रोकथाम र उपचार विधामा, बस्न्यातले वातावरण, जलवायु परिवर्तन र उत्थानशीलतामा र गहतराजले स्थानीय शान्ति र द्वन्द्व रोकथाम/समाधान विधामा अवार्ड जितेका हुन् । पत्रकारितामार्फत समाजमा सकारात्मक सिर्जना गर्ने पत्रकारलाई राेटरीले सन् २०११ देखि राेटरी जर्नाे अवार्ड प्रदान गर्दै आएको छ। विगतमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ पत्रकार भैरव रिसाल र भारतदत्त काेइरालालाई सम्मान गरिएकाे थियाे।

राेटरीले सेवा गर्ने क्षेत्रलाई आधार मानेर विभिन्न विधामा देशभरीबाट अनलाइन आवेदन माग गरेकाेमा छनाेट समितिले उत्कृष्ट पत्रकारकाे छनाेट गरेकाे राेटरी जर्नाे अवार्ड कमिटी अध्यक्ष सुरेश आचार्यले जानकारी दिए। जुरी प्यानल काेअर्डिनेटर वरिष्ठ पत्रकार तीर्थ काेइरालाले पत्रकारकाे क्षमता आधारमा निकै स्वच्छ र पारदर्शी ढंगले छनाेट गरिएको बताए । प्रमुख अतिथि गाेल्यानले पुरस्कृत सम्पूर्ण पत्रकारलाई बधाई दिँदै यसबाट अब्बल र मेहनति पत्रकारलाई अझ अगाडि बढ्ने प्रेरणा मिल्ने बताए । उनले राेटरी एक इन्टरनेशनल संस्था भएको उल्लेख्य गर्दै समाजमा यसकाे कामबाट अहिले झन् पाेजेटिभ सुनिन थालेकाे बताए । कार्यक्रमका अध्यक्ष डिस्ट्रिक्ट गभर्नर विनाेद काेइरालाले राेटरीले समाजिक सेवा सँगसँगै पत्रकारलाई पनि बर्सेनि पुरस्कृत गर्दै आएको बताए ।

राेटरीका १२ लाख सदस्य रहेकाे उल्लेख गर्दै समाजमा भाेकेस्नल सर्भिसलाई विश्वास गर्ने बताए । उनले भने, राेटरीले पेसागत मर्यादालाई उच्च सम्मान गर्छ। राेटरीले स्वार्थभन्दा माथि उठेर श्रम, पैसा, समय र क्षमता समाजमा डाेजेट गर्ने काम गर्छ । राेटरीले गरेका कामलाई सकारात्मक ढंगले बुझिदिन पनि आग्रह गर्छु। कार्यक्रम संचालन राेटरी जर्नाे अवार्ड कमिटी अध्यक्ष सुरेश आचार्य, धन्यवाद ज्ञापन हिमाल पाैडेल र पुरस्कृत पत्रकारकाे तर्फबाट आदित्यमान श्रेष्ठ, उर्वशी बस्न्यात र सराेज ढुंगेलले बाेलेका थिए ।