काठमाडौं, असार – युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद मोहम्मद ए. म्निखर तथा प्रथम सचिव अब्दुल रहमान के. घोषोसँग शिष्टाचार भेट गर्दै द्विपक्षीय हितका विविध विषयमा छलफल गर्नुभएको छ।
भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण (SVP) प्रक्रियालाई तत्काल स्थगन गर्न विशेष आग्रह गर्नुभयो। उहाँले उक्त प्रक्रियाका कारण नेपाली श्रमिकहरूको भिसा प्रक्रिया प्रभावित हुन नदिन तथा भिसा जारी गर्ने कार्य यथावत् सञ्चालन गर्न पनि अनुरोध गर्नुभयो।
हाल साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सिप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै मन्त्री यादवले उनीहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो।
उहाँले सिप प्रमाणीकरण (SVP) प्रक्रियासँग सम्बन्धित सबै विषयहरू द्विपक्षीय परामर्श तथा सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिनुभयो।
जवाफमा साउदी राजदूत म्निखरले यस विषयमा साउदी सरकारसँग आवश्यक परामर्शपछि थप जानकारी उपलब्ध गराइने बताउनुभएको मन्त्रालयले जनाएको छ।








