images
images

जनार्दन शर्मा भन्छन्– नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्रै जीवित हो

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटित भइसकेको भन्दै त्यसको पुनर्गठनको लागि नयाँ अभियान आवश्यक रहेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कम्युनिस्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमल, राजनीतिक रूपमा गञ्जागोल र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भइसकेको बताएका हुन्।

उनले अहिले कम्युनिस्ट आन्दोलनभन्दा पनि त्यसमा आवद्ध नेता र समर्थक मात्रै बाँकी रहेको टिप्पणी गर्दै आन्दोलनको मूल शक्ति विघटन भइसकेको दाबी गरे। यस्तो अवस्थामा आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उनको भनाइ छ।

उनले भने, ‘अब नेपाली कम्युनिस्ट आन्दोलन अल्मलियो। वैचारिक रुपले अल्मलियो, राजनीतिक रुपमा गञ्जागोलमा गयो। र सांगठनिक रुपले त एउटा नोकरशाहीतन्त्रमा फेरियो र विघटन भयो। मलाई लाग्दैन यहाँ अहिले कम्युनिस्ट आन्दोलन जीवित छ। कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू मात्रै जीवित हो हामी। हामीलाई समर्थन गरेका जनता र हामी मात्रै जीवित हो।’

शर्माले एक समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनसमर्थन रहेको उल्लेख गर्दै अहिले त्यो आधार उल्लेखनीय रूपमा खस्किएको बताए।