काठमाडौँ – सर्वोच्च अदालतको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रिहा गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा विभिन्न अदालतहरूमा सम्बन्धित मुद्दाका सक्कल मिसिलहरू झिकाउन आदेश दिएको छ।
पौडेलकी श्रीमती दोमाया पौडेलले दायर गरेको निवेदनमा न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार उनी जोडिएका आशंका गरिएका विभिन्न व्यक्तिविरुद्ध परेको मिसिल झिकाउन भनेको हो।
उनलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ।
सर्वोच्चले विभिन्न अदालतमा रहेका ६ वटा मुद्दाका मिसिल झिकाएर असार १८ गते पेशी तोकी सुनुवाइ गर्न आदेश दिएको छ।
सर्वोच्चले व्यवसायी दीपक भट्ट, दीपक भट्टविरुद्ध विशेष अदालतमा दायर भएको बैंकिङ कसुर सम्बन्धी मिसिल झिकाउन आदेश दिएको छ।
त्यस्तै काठमाडौँ जिल्ला अदालतबाट तीनवटा फरक फरक मुद्दाका सक्कल मिसिलहरू माग पनि गरेको छ।
आशिष श्रेष्ठविरुद्ध लागेको बीमा सम्बन्धी कसुर, व्यवसायी सुलभ अग्रवालविरुद्ध दायर भएको धितोपत्र सम्बन्धी कसुर र दीपक भट्टसमेत जोडिएको धितोपत्र सम्बन्धी कसुरको मिसिल झिकाउन आदेश दिएको छ।
त्यस्तै दीपक भट्टको पक्षबाट दायर भएको बन्दीप्रत्यक्षीकरण छिनुवा मिसिल सर्वोच्चकै अभिलेख शाखाबाट अवलोकनार्थ झिकाउन आदेश दिएको छ।








