images
images

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्ने बताएका छन्।

मंगलबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा अपहरित लोकतन्त्रलाई पुन: स्थापित गर्न साझा प्रयास आवश्यक रहेको बताए।

उनले देशमा देखिएको राजनीतिक विकृतिविरुद्ध सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिहरूबीच कार्यगत सहकार्य अपरिहार्य भएको उल्लेख गरे।

अध्यक्ष ओलीले हाल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पार्दै त्यसबारे भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले एमालेले समूहगत वा संस्थागत पार्टी एकता नगर्ने, तर पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति तथा समूहलाई खुला मनले स्वागत गर्दै समेट्ने नीति लिएको बताए।

उनले पार्टी एकतामा स्वच्छता र वैचारिक प्रतिबद्धता आवश्यक हुने उल्लेख गर्दै विगतका केही एकतामा स्वार्थ, गठजोड र राजनीतिक दाउपेच हावी भएको टिप्पणी गरे।

अध्यक्ष ओलीले गत फागुन २१ गते सम्पन्न निर्वाचनलाई २०८२ भदौ २३ र २४ गते भएका घटनालाई वैधानिकता दिने उद्देश्यले मञ्चन गरिएको ‘नाटक’को संज्ञा दिए। उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो र दुई दिनसम्म सुरक्षा संयन्त्र किन प्रभावहीन बन्यो भन्ने मूल प्रश्नको जवाफ नभएको भन्दै आयोगले वास्तविक घटनालाई ढाकछोप गरेको आरोप लगाए।