images
images

श्रममन्त्री यादव भन्छन्– ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ

काठमाडौँ – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले नेपालमै आकर्षक रोजगारीको आधार निर्माण गर्न लागेको दाबी गरेका छन्।

मन्त्रालयमा बिहीबार आयोजित सम्मान कार्यक्रममा उनले नेपालको श्रम बजारलाई सीपयुक्त, सम्मानजनक र आकर्षक रोजगारीको अवसर सिर्जना गर्ने दिशामा सरकारले काम गरिरहेको बताएका हुन्। विदेश जाने युवाले पनि सीप, प्रविधि र ज्ञान आर्जन गरी थप सक्षम भएर स्वदेश फर्किने वातावरण तयार पारिने उनले बताए।

सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनसँगै वैदेशिक रोजगारीलाई सुरक्षित, सीपमुखी र उत्पादनमुखी बनाउने नीति अवलम्वन गरेको उनको भनाइ छ। उनले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामार्फत स्वदेशमै स्थापित गर्ने सरकारको नीति रहेको उल्लेख गरे।

विदेशबाट फर्किएका उद्यमीहरू अन्य श्रमिकका लागि प्रेरणाको स्रोत भएको उनले बताए। उनले रास्वपा नेतृत्वको सरकारले पाँच वर्षभित्रै देश बस्नलायक बनाउने दाबी गरे।

उनले भने, ‘यदि तपाईं विदेश जान चाहनुहुन्छ, संसार हेर्न चाहनुहुन्छ, नयाँ कुरा सिक्न चाहनुहुन्छ र आर्जन गर्न चाहनुहुन्छ भने पनि तपाईं नयाँ सीप, प्रविधि र ज्ञान लिएर अझ सक्षम भएर फर्किन सक्ने वातावरण निर्माण भइरहेको छ। ढुक्क हुनुहोस्, हामी देश यसैपालि बनाउँछौँ।’