काठमाडौँ- नेपाल सरकारले नेपाल प्रहरीमा व्यापक प्रशासनिक हेरफेर गर्दै जनपदतर्फका आठै जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको एकसाथ सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी सङ्गठनको कार्यसम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले उच्च तहमा यो फेरबदल गरेको हो।
यस निर्णयअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखको जिम्मेवारी एआईजी उमाप्रसाद चतुर्वेदीले पाएका छन्। यसअघि सीआईबी प्रमुख रहेका एआईजी डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। त्यस्तै, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा एआईजी सुशीला सिंह राठौरलाई नियुक्त गरिएको छ। यसअघि उपत्यकाको नेतृत्व सम्हालिरहेका एआईजी ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा सरुवा गरिएको छ।
- उमाप्रसाद चतुर्वेदी: केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)
- सुशील सिंह राठौर: काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी
- डा. मनोज केसी: अपराध अनुसन्धान विभाग (सीआईबीबाट सरुवा)
- ईश्वर कार्की: मानवस्रोत विभाग (उपत्यका प्रहरीबाट सरुवा)
- राजन अधिकारी: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान
- सिद्धिविक्रम शाह: कार्य विभाग (प्रशिक्षण प्रतिष्ठानबाट सरुवा)
- डम्बर विक: प्रशासन विभाग (प्रदेश समन्वय विभागबाट सरुवा)
- हिमालयकुमार श्रेष्ठ: प्रदेश समन्वय विभाग (प्रशासन विभागबाट सरुवा)
सरुवाको थप सूचीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा एआईजी राजन अधिकारी नियुक्त भएका छन् भने प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धिविक्रम शाहलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यसैगरी, प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डम्बर विकलाई प्रशासन विभागमा र प्रशासन विभागमा कार्यरत एआईजी हिमालयकुमार श्रेष्ठलाई प्रदेश समन्वय विभागमा जिम्मेवारी दिइएको छ। प्रहरी अस्पतालमा भने एआईजी डा. सुन्दरप्रसाद ह्योजु यथावत कार्यरत छन्। संगठनको आन्तरिक व्यवस्थापन र कार्यक्षमता अभिवृद्धि गर्न यो सरुवा नियमित प्रशासनिक प्रक्रिया भएको बताइएको छ।








