images
images

सरकारका १०० दिनबारे रविः राम्रो सुरुवात भएको छ, नतिजा आउन दुई–तीन वर्ष लाग्छ

काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो सुरुवात गरेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले शुरुवाती सय दिनमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका हुन्।

उनले भने, ‘सरकारले यो सय दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो। सरकारले यो सय दिनमा विशेष गरी सुशासनमा अझ बढी समय लगाएको छ। लगाउनुपर्ने पनि छ। सुशासनका मुद्दामा अझ बढी ध्यान गयो। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अझ पछाडि देखिँदै आउँछ।’

उनले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधार आयोजनाको विषयमा सरकारले दुई–तीन वर्षको योजना बनाएर काम गरिरहेको उल्लेख गर्दै त्यसको नतिजा दुई–तीन वर्षभन्दा पहिले अपेक्षा गर्न नहुने बताए। यद्यपि, विकास निर्माणको विषयमा तत्काल देखिने केही क्षेत्रमा पनि उपलब्धिमूलक काम भएको लामिछानेको दाबी छ।

उनले नागरिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनुका साथै कम झन्झटिलो बनाउने प्रक्रियाको सुरुवात भइसकेको भन्दै त्यसको सकारात्मक प्रभाव विस्तारै देखिँदै जाने विश्वास व्यक्त गरे।

उनले भने, ‘भौतिक पूर्वाधारको क्षेत्रमा भन्नुहुन्छ भने हामीले दुई–तीन वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ। त्यसको नतिजा दुई तीन वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुनसक्ला। यद्यपि, तत्काल देखिने नतिजाहरूमा समेत काम भएकै छ। सुशासन अहिले सरकारको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा सेवालाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगनिङजस्तो मलाई लागेको छ।’