काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग आफूलाई सिध्याउने सामर्थ्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको हाइटमा प्रधानमन्त्री शाह नरहेको बताए।
आफूहरूले गल्ती गरेको भए ओलीले पहिल्यै आफूहरूलाई जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप लगाए। ओलीले आफूहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएको पनि उनको आरोप छ।
उनले भने, ‘यो बालेनजीको सरकारले माधवलाई र मलाई केही गर्न पर्दैनथ्यो, केपी ओलीले काफी थियो। केपी ओलीले यति खोजेको हुन्, हाम्रो कहाँ छ? कति छ? यिनलाई फसाउने कसरी र सिध्याउने कसरी? भन्नेमा केपीको हाइटमा बालेनजी छैनन् हामीलाई सिध्याउने। तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर फेरि सहकार्यको कुरा पनि गरिराखेकै हुन्छौँ। अब यो हाम्रो जिम्मेवारी बोध भन्नुस्, उदारता भन्नुस्।’
पार्टीका सहसंयोजक माधव नेपाललाई अघिल्लो सरकारले मुद्दा लगाएर राखेको र आफ्नोबारेमा दुबईमा १ सय ४० अर्ब छ भनेर भ्रम फिँजाइएको भन्दै असन्तुष्टि जनाए।








