images
images

कोशी अस्पतालको सरकारी जग्गा एक साताभित्र खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर— गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले आइतबार विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको सरकारी जग्गाको स्थलगत निरीक्षण गरेका छन्। धनरानबाट विराटनगर पुगेका दुवै मन्त्रीले अस्पतालको जग्गामा सञ्चालनमा रहेका औषधि पसल तथा अन्य संरचनाको अवलोकन गर्दै सम्बन्धित व्यवसायीसँग संक्षिप्त छलफल गरेका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले सरकारी जग्गा लामो समयदेखि विभिन्न व्यक्तिले प्रयोग गरिरहेको विषयमा आफूले अध्ययन गरिरहेको बताए। उज्जवल फर्मामा पुगेर उनले पसल सञ्चालनसम्बन्धी सम्झौता पत्र, भाडा तथा सञ्चालन प्रक्रियाबारे जानकारी मागेका थिए।

पसल सञ्चालकले सम्झौता पत्र घरमा रहेको र आफूले मासिक ६० हजार रुपैयाँ भाडा तिर्दै आएको जानकारी दिएका थिए।

त्यसपछि गृहमन्त्री गुरुङले सरकारी जग्गा खाली गराउने प्रक्रिया अघि बढाइने स्पष्ट गर्दै एक साताभित्र औपचारिक सूचना जारी हुने बताएका छन्। उनले सरकारी जग्गामा बसेर कुनै समितिलाई भाडा बुझाउने व्यवस्था स्वीकार्य नहुने उल्लेख गर्दै सम्बन्धित व्यवसायीलाई तयारी अवस्थामा रहन आग्रह गरे।

मन्त्री गुरुङले व्यवसायीसँगको संवादमा औपचारिक पत्र प्राप्त भएपछि आवश्यक छलफल गरिने बताएका थिए।

संवादपछि गृहमन्त्री गुरुङले अन्य पसलहरूको पनि जानकारी लिएका थिए। निरीक्षणका क्रममा सर्वसाधारणको भीड बढेपछि दुवै मन्त्री अस्पतालभित्र प्रवेश नगरी त्यहाँबाट बाहिरिएका थिए।

कोशी अस्पतालको स्वामित्वमा रहेको सरकारी जग्गा लामो समयदेखि विभिन्न संरचना तथा व्यवसायिक प्रयोजनमा प्रयोग हुँदै आएको विषय पछिल्लो समय पुनः चर्चामा आएको छ।