images
images

गृहमन्त्री सुधन गुरुङ झापामा: सीमा सुरक्षा चुस्त राख्न र तस्करी शून्यमा झार्न निर्देशन

झापा- कोशी प्रदेशका विभिन्न जिल्लाहरूको सुरक्षा तथा वस्तुस्थिति अनुगमन गर्ने क्रममा गएराति झापा आइपुगेका गृहमन्त्री सुधन गुरुङ आज दिनभरजसो विभिन्न कार्यक्रम र निरीक्षणमा व्यस्त रहेका छन्।

झापा बसाइका क्रममा उनले जिल्लाको सुरक्षा अवस्था, सीमा नाका र हात्ती प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

आज बिहान ९:१० बजे अर्जुनधारा-११ स्थित सालबारी हेरिटेज भिल्लामा गृहमन्त्री गुरुङ र झापाका उच्च सुरक्षा अधिकारीहरूबीच भेटघाट भएको थियो।

भेटका लागि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल २ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, र राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उप-अनुसन्धान निर्देशक उमेश पाण्डे पुगेका थिए।

सो क्रममा उनीहरूबीच जिल्लाको समग्र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो।

सालबारी हेरिटेज भिल्लाबाट बिहान १०:१५ बजे बीएसी २६२० नम्बरको गाडीमा निस्केका गृहमन्त्री गुरुङ सुरुमा बुद्धशान्ति–६ सन्तपुर पुगेका थिए।

उनले बिहान १०:५५ बजे जेनजी आन्दोलनका घाइते अनिकेत चौलागाईंसँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।

घाइते चौलागाईंसँगको भेटघाट लगत्तै बिहान ११:४५ बजे गृहमन्त्री गुरुङ मेचीनगर-६ स्थित काँकडभिट्टा नाकाको अनुगमनमा पुगेका थिए।

त्यस क्रममा उनले नाकास्थित यात्रु जाँच कक्ष र मेची भन्सार कार्यालयको विस्तृत निरीक्षण गरे। निरीक्षणका क्रममा उनले सर्वसाधारणका गुनासाहरू समेत सुनेका थिए।

भन्सारमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई नाकाको सहज व्यवस्थापन गर्न र सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीले निर्देशन दिए।

सीमा क्षेत्रमा हुने चोरी तस्करीलाई शून्यमा झार्न उनले कडा निर्देशन दिएको एक सुरक्षा अधिकारीले जानकारी दिए।

काँकडभिट्टाको अनुगमन सकिए लगत्तै गृहमन्त्री गुरुङ नकलबन्दा हुँदै मेचीनगर-४ स्थित बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रको अनुगमनका लागि निस्के।

त्यहाँ पनि सर्वसाधारणका गुनासा उनले सुनेका थिए।