images
images

वारपारको तयारीमा जुट्यो कांग्रेसको देउवा पक्ष

काठमाडौँ – कांग्रेसभित्रको किचलो वारपारको अवस्थामा पुगेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षलाई अस्वीकार गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवा पक्षले अब एकता वा विभाजनको निर्णयमा पुग्नुपर्ने धारणा राखेको हो।

मंगलबार काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित देउवा पक्षीय केन्द्रिय सदस्यहरुले पार्टी एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेबारेमा अब ढिलाइ गर्न नहुने धारणा राखेका हुन्। चुनदेवीमा कार्यालय नै खोलेर देउवा पक्ष समानान्तर पार्टी गतिविधिमा उत्रिएको छ।

पूर्व उपसभाति पूर्णबहादुर खड्काले सोमबारदेखि १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको बैठक सुरु गरेका छन्।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगदेखि सर्वोच्च अदालतले पनि मान्यता दिएपछि खड्काले नेतृत्व गरेको समूहले थापा पक्षसँग निरन्तर संवादमा रहँदै आएको थियो।

बैठकपछि नेता मिनबहादुर विश्वकर्माले पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ ? र एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ भन्नेबारेमा छलफल भएको जानकारी दिए।

उनले सबैले पार्टी एकताप्रति चिन्ता व्यक्त गरेको दाबी गरे।

‘पार्टी एकताका लागि कसरी अगाडि बढ्न सकिन्छ ? एकता नभए पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ र राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिलाई जोडेर आज बोल्ने क्रममा वक्ताहरू सबैले नै पार्टी एकताको चिन्ता पनि गर्नुभएको छ, विश्वकर्माले अगाडि भने, ‘सबै नेताहरू एकठाउँ बस्नुप¥यो, साझा निर्णय गर्नुप¥यो र वैकल्पिक शक्ति निर्माण गर्नुपरेमा अथवा वैकल्पिक संगठन नै निर्माण गर्नुपरेमा पनि हामी हच्किनु हुँदैन अथवा त्यसमा हामी धेरै आशङ्काहरू गर्नु हुँदैन, लिएर अगाडि जानुपर्छ भन्ने राय अधिकांश वक्ता साथीहरूको आएको छ ।’

मंगलबारको बैठकममा सात जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए। नेताहरु वीरबहादुर बलायर, मोहन बस्नेत, किरण पौडेल, गुरु बराल, गोविन्द शाहले अब बसरी अघि बढ्ने भन्ने विषयमा आआफ्नो सुझाव पेश गरेका थिए। त्यस्तै महिन्द्रा लिम्बु र सीता देवकोटाले पनि बैठकमा धारणा राखेकी थिइन्।

विशेष महाधिवेशन पक्षले आधिकारिता पाएपछि देउवा पक्षले १५औँ नियमित महाधिवेशनका लागि पुरानो र नयाँ कार्यसमिति मर्ज हुनुपर्ने, निर्वाचन समिति, सदस्यता छानबिन समिति, अनुशासन आयोग, भातृ संगठन जस्ता पार्टी निकायहरुमा दुवै तर्फबाट बराबरी सदस्य राखेर जानुपर्ने माग रोखका छन्।

त्यस्तै उनीहरुले क्रियाशिल सदस्यता पहिल्यै नवीकरण भइसकेकाले अध्यावधिक गर्नु नपर्ने प्रस्ताव गरेका छन्। थापा नेतृत्वको कांग्रेसले अनलाइन माध्यमबाट क्रियाशिल सदस्यता अद्यावधिक गर्न आह्वान गरे पनि देउवा पक्षले अस्वीकार गर्दै आएको छ।

बैठक बुधवार पनि जारी रहनेछ।