काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई संसद्मा बोल्नुअघि संसदीय दलका सचेतकहरूलाई आफूले बोल्ने विषयबस्तुबारे जानकारी गराउनुपर्ने उर्दी जारी गरेको छ।
रास्वपा संसदीय दलका सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले सांसदहरूलाई म्यासेज पठाउँदै संसद्मा बोल्नु एक दिनअघि नै बोल्ने विषयबस्तु पठाउन निर्देशन दिएका हुन्।
क्रान्तिशिखा धितालको नाममा पठाइएको म्यासेजमा शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने सामग्री (स्पिच/नोट) अनिवार्य रुपमा पठाउन निर्देशन दिइएको छ।
म्यासेजमा भनिएको छ- ‘अबदेखि शून्य समय तथा विशेष समयमा प्रस्तुत गर्ने आफ्नो सामग्री (स्पिच/नोट) अनिवार्य रूपमा मलाई (क्रान्तिशिखा) तथा सचेतक प्रकाशचन्द्र परियारज्यूलाई एक दिन अगाडि नै पठाइदिनुहुन अनुरोध गर्दछु।’
सांसदहरूलाई पठाइएको निर्देशनबारे सचेतक परियारले देशसञ्चारसँग कुरा गर्दै आफ्नो दलका सांसदहरूको अभिव्यक्तिलाई सेन्सर गर्न नखोजिएको जिकिर गरे। उनले भने- ‘हामीले सांसदहरूलाई सेन्सर गर्न खोजेका हैनौँ, जब संसद्मा सबै कुरा पूर्वनिर्धारित हुन्छ भने हाम्रा सांसदहरूले बोल्नेकुरा पनि त्यसैअनुसार व्यवस्थित गरौँ भनेर अनुरोध गर्न खोजेका हौँ।’
उनले संसद्को गरिमा, मर्म, कार्यादेश र परिणामलाई प्रभावकारी बनाउन पूर्वतयारी गर्न अनुरोध गरेको दाबी पनि गरे।
सरकार र पार्टीका नेताहरूबारे प्रतिनिधिसभामा रास्वपाका सांसदहरूले बेलाबेलामा प्रश्न उठाउँदै आएका छन्।
यसअघि सोमबारमात्र सचेतक धिताल आफैँले सरकारले गरेको सुकुम्बासी व्यवस्थापनबारे प्रश्न उठाएकी थिइन्।
सोमबारको संसद्मा पनि रास्वपाका सांसदहरूले सरकारका क्रियाकलापबारे प्रश्न उठाएका थिए।







