तस्वीर :Ai
काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्थिति गम्भीर बनेको छ । उनलाई उपचारका निम्ति वीर अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । मुगु जिल्लाको सोरु गाउँपालिका १ घर भएका उनी भक्तपुर बस्दै आइरहेका छन् ।
दिउँसो करिब १:४५ को समयमा उनले आफ्नै बाइकको ट्यांकीबाट पेट्रोल निकालेर आफ्नो शरीरमा खन्याएका थिए ।
उनी विगत दुई वर्षदेखि काठमाडौंमा पठाओ चलाएर परिवार पाल्दै आएका थिए। उनका दाजु मदन नेपालीका अनुसार घरमा उनकी श्रीमती र एक छोरी छन्।
विभागको ३ नम्बर गेट अगाडि मोटरसाइकल पार्क गरेको केही मिनेटमै महानगरको नगरप्रहरीले ह्वील लक गरिदिएको थियो। आफ्नो मोटरसाइकल महानगरको गाडीमा राख्न लाग्दा नेपालीले नलैजान निकै हारगुहार गरे ।
नगरप्रहरीले बल प्रयोग गरी मोटरसाइकल लैजान खोजेपछि नेपालीले मिनरल वाटरको बोतलमा मोटरसाइकलको पेट्रोल झिकेर आत्मदाह गर्ने चेतावनी दिएका थिए। तर, नगरप्रहरीले बेवास्ता गरेपछि उनले शरीरमा पेट्रोल छर्किएर आगो लगाए ।
वीर अस्पतालका डाक्टरका अनुसार नेपालीको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर छ। उनको अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टासहित शरीरको अधिकांश भाग जलेको छ। चिकित्सकले ८० प्रतिशतभन्दा बढी भाग जलेको बताएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको संवेदनशीलतालाई हेर्दै उक्त क्षेत्रका सबै सीसीटीभी फुटेज संकलन गरेर विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ। घटनापछि नगरप्रहरीको उक्त भ्यान र नेपालीको मोटरसाइकल राहदानी विभाग परिसरमै राखिएको छ।







