images
images

संविधानका आधारभूत विषयहरूमा कुनै सम्झौता हुँदैनः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्यमान्यतामा पार्टीले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता विषयहरू नेपाली कांग्रेसका लागि अपरिवर्तनीय रहेको बताएका हुन्।

उनले यी विषयहरू पार्टीको विधान र केन्द्रीय कार्यसमितिको निर्णयबाट समेत प्रष्ट भइसकेको उल्लेख गर्दै यसमा कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने बताए।

सभापति थापाले लोकतन्त्रलाई परिणाममुखी बनाउन, नागरिकलाई थप अधिकार सम्पन्न तुल्याउन र सुशासन एवं सेवा प्रवाहलाई चुस्त बनाउन संविधानका कतिपय प्रावधान परिमार्जन गर्नुपर्ने बताए।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीले आफ्नो प्रतिज्ञापत्र, पार्टीको विधान तथा केन्द्रीय कार्यसमितिको निर्णयमार्फत संविधानका आधारभूत विषयहरू–लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता, बहुसाँस्कृतिक विशेषता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायतका विषयमा कुनै पनि सम्झौता नगर्ने कुरा स्पष्ट पारिसकेको छ। त्यसैगरी, बहुदलीय संसदीय व्यवस्था, शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, समानुपातिक समावेशी सिद्धान्त, खुला समाज र मानव अधिकार संविधानका आधारभूत स्तम्भ हुन्। यी विषयलाई अझ व्यापक बनाउन सकिन्छ, विस्तार गर्न सकिन्छ, तर तिनलाई सङ्कुचित बनाउने कुनै पनि कुरा नेपाली कांग्रेस पार्टीका लागि कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’