images
images

सरकार निरंकुशताको बाटोमा लाग्योः पूर्वमुख्यमन्त्री जम्कट्टेल

काठमाडौँ – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइको जनमत दिए पनि सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका हुन्।

उनले पुराना राजनीतिक शक्तिहरूले काम गर्न नसकेको भन्दै नयाँ परिवर्तनको आशमा जनताले मतदान गरेको बताए। यद्यपि, वर्तमान सरकारको अवस्था निराशाजनक रहेको र यसले जनभावनाको कदर गर्न नसकेको उनको भनाइ छ।

उनले सरकार नागरिकलाई वर्गविभाजन गर्ने, थिचोमिचो गर्ने, धम्काउने र थुन्नेजस्ता दमनकारी कानुन निर्माणमा तल्लीन रहेको आरोप लगाए। जिम्मेवार मन्त्रीहरूबाटै नागरिकको खुट्टा भाँचिदिनेजस्ता धम्कीपूर्ण अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए।

सुकुम्वासी व्यवस्थापनको सन्दर्भमा बोल्दै जम्मरकट्टेलले सरकारले उचित प्रक्रिया र विधिको पालना नगरेको बताए। सुकुम्वासीहरूलाई जग्गाको पहिचान र लालपुर्जाको व्यवस्था नगरी जबर्जस्ती हटाएको उनले बताए।

सरकारले कानुनको कार्यान्वयन र विधिको शासन पालना गर्नुपर्नेमा जोड दिँदै उनले जनतालाई तर्साउने र निरंकुश व्यवहार प्रदर्शन गर्ने कार्य सरकारका लागि शोभनीय नभएको बताए। सरकार जताततै निरंकुश बन्दै गएको भन्दै उनले यस्ता गतिविधि तत्काल बन्द गर्न चेतावनी दिए।