काठमाडौं : साउन महिनामा लाखौँ भक्तजनलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ। पशुपति क्षेत्र विकास कोषले शनिबारदेखि अभियान सञ्चालन गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार साउन महिना र विशेषगरी सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको अत्यधिक भीड हुन्छ।
अभियानको पहिलो दिन पशुपतिनाथ मूल मन्दिर परिसरदेखि सूर्यघाटसम्म सफाइ गरिएको छ। आइतबार अपराह्न मूल मन्दिर बन्द भएपछि थप सूक्ष्म रूपमा सरसफाइ गरिने र त्यसमा सुरक्षा निकायको समेत सहभागिता रहने कोषले जनाएको छ।
कोषका अनुसार अब प्रत्येक शनिबार नियमित रूपमा सफाइ अभियान सञ्चालन गरिनेछ। साउन महिनाभर भने भक्तजनको चापलाई मध्यनजर गर्दै आइतबारसहित आवश्यकताअनुसार अन्य दिन पनि विशेष सरसफाइ अभियान सञ्चालन गरिने तयारी गरिएको छ।








