images
images

गणेश नेपालीका सम्बन्धमा सरकार र महानगरले पीडित परिवारसँग गर्‍यो ९ बुँदे सहमति

काठमाडौँ- महानगर प्रहरीसँगको विवादका कारण बिहीबार आत्मदाह गरेका मुगुका गणेश नेपालीको विषयमा आइतबार नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा ९ बुँदे सहमति भएको छ।

काठमाडौँका प्रजिअ ईश्वरराज पौडेलको उपस्थितिमा दुवै पक्षबीच आइतबार औपचारिक सहमति पत्रमा हस्ताक्षर भएको हो।

त्रिपुरेश्वरस्थित राहदानी कार्यालयअगाडि महानगर प्रहरीको गैरजिम्मेवार व्यवहारका कारण मुगु जिल्ला सोरु गाउँपालिका वडा नं. १, जवलधारा घर भएका २५ वर्षीय नेपालीले आफैँले आफैँलाई आगो लगाएका थिए। उनको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उक्त घटनाप्रति नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

सहमतिसँगै पीडित पक्षले शव बुझेर अन्तिम संस्कार गर्ने र कानुनी प्रक्रियालाई अगाडि बढाउन सहज भएको छ।

यी हुन् वार्तामा भएका मुख्य ९ बुँदे सहमतिहरू : 

१. स्वतन्त्र छानबिन समिति गठन: घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले गठन भएको मितिले ७ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ।

२. सहिद घोषणाको प्रक्रिया: स्वर्गीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ।

३. नगर प्रहरी कर्मचारीलाई निलम्बन गरिने: घटना घटेको दिन कार्यक्षेत्रको अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीहरूलाई छानबिन आयोगको प्रतिवेदन नआएसम्मका लागि हाललाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले महानगरपालिकालाई लेखी पठाउनेछ।

४. रोजगारी र निःशुल्क शिक्षा: काठमाडौँ महानगरपालिकाको आगामी कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमती (एकमाया नेपाली) लाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाले सम्पूर्ण खर्च व्यहोर्ने गरी आवश्यक प्रबन्ध मिलाउनेछ।

५. उचित राहत रकम: महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकका आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ।

६. अन्तिम संस्कार र काजक्रिया खर्च: मृतकको अन्तिम संस्कार (सद्गत) र काठमाडौँमा गरिने काजक्रियाका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन काठमाडौँ महानगरपालिकाले मिलाउनेछ।

७. शव बुझ्ने र कानुनी प्रक्रियामा सहयोग: पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ।

८. यातायात तथा आवास खर्च: मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवं काठमाडौँमा काजक्रिया अवधिभर रहँदा-बस्दा हुने सम्पूर्ण खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्नेछ।

९. स्वास्थ्य बिमा: पीडित परिवारका एकाघरका सदस्यहरूको स्वास्थ्य बिमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत आवश्यक व्यवस्था मिलाइनेछ।

सहमतिपत्रमा काठमाडौँका प्रजिअ पौडेल र काठमाडौँ महानगरपालिकाका प्रतिनिधि सरोज गुरागाईंको हस्ताक्षर छ भने पीडित परिवार तथा वार्ता समितिका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुबा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपाली तथा वार्ता समितिका सदस्यहरू भक्त बहादुर रावत, धर्मराज शाही, मन नेपाली, प्रवल कुमार चौलागाईं, नवराज न्यौपाने, पदम नेपाली, आशिष देवकोटा, र सर्जन बरालले हस्ताक्षर गरेका छन्।