images
images

सरकारले मुख थुन्न र तर्साउन खोज्दै छ: गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रश्न गर्न पाउने हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन्।

सोमबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमसँगै आफ्नो घरअगाडि शंकास्पद रुपमा गाडी पार्किङ गरिएको विषयमा बोल्दै सभापति थापाले समाजको प्रश्न गर्ने हक कसैले खोस्न नसक्ने बताएका हुन्।

सरकारले प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्न खोज्ने भन्दै उनले खेद व्यक्त गरेका छन्। रातोपुलका स्थानीयले गाडी पार्किङ गरेर जाने दुई जना प्रशासनकै गाडी चढेर गएको जानकारी गराएको उनले बताए।

‘यो अचम्म लाग्ने कुरा कसले गरिरहेको छ त? सरकार आफैले गरिरहेको छ। सरकार आफै प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्नका लागि ओर्लेर आएको छ,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट हामी अहिले यति नै भन्छौँ–  यी सबै कुराहरू खेदजन्य छन्। यी कुराहरूले सोसाइटीको, कांग्रेसको प्रश्न गर्ने कुराको हाम्रो हक न कसैले खोस्न सक्छ न हाम्रो हिम्मत कसैले खोस्न सक्छ।’

सरकारले आफ्नो मुख थुन्न खोजेको र तर्साउन खोजेको बताए। आफ्नो घरको गल्तीबाट कुनै बेला सेना, प्रहरी आएको भन्दै उनले त्यो गल्लीले धेरै कुरा देखिसकेको बताए।

‘मेरो घरको त्यही गल्लीबाट कुनै बेला पुलिस पनि आएकै हो। कुनै बेला आर्मी पनि आएकै हो। त्यही गल्लीबाट छिरेर आइसकेपछि म पनि आएकै हो। मेरो गल्लीले पनि धेरै कुरा देखिसक्यो। मैले पनि धेरै कुरा देखिँसकेँ। हामी सबैले देखिसक्यौँ। नेपाली सोसाइटीले प्रश्न गर्न पाउनुपर्छ भन्ने कुरा आजको कुरा होइन,’ उनले भने।