images
images

रवि लामिछानेको अभिव्यक्ति- मिडियाअगाडि पार्किङ अस्वाभाविक, छोडियो कि समातियो बेग्लै कुरा!

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न सञ्चार गृहका गेटअगाडि गाडी पार्किङ गरिएको विषयमा छानबिन र कारबाही हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको र यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए।

उनले आफ्नो पार्टीले विगतमा पनि गलत गर्ने सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै कानुनी प्रक्रियामा कसैलाई पनि छुट नहुने बताए। उनले यस्ता गतिविधि रोक्न प्रशासन र प्रहरीले आफ्नो अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘उनीहरुलाई कारबाही गर्नुपर्छ। पार्टीले भनिसक्यो, विज्ञप्ति निकाल्यो। सबैभन्दा पहिला हामीले नै भन्यौँ, यो गलत कुरा हो। यो हुनुहुँदैन। छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ। हामीले भनेका छौँ र त्यसमा अडिग छौँ। पार्टीले यो विषयलाई एकदमै गम्भीरतापूर्वक लिएको छ। तत्काल के गरियो भन्ने एउटा पाटो हो। तर यो घटनालाई हेर्ने पार्टीको दृष्टिकोण स्पष्ट छ। हामी त्यसैमा अडिग छौँ। तत्काल छोडियो कि समातियो, मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो। तर, समग्रमा जुन प्रवृत्ति देखियो, त्यो अस्वाभाविक थियो।’

प्रधानमन्त्रीसँगको भेटमा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान र व्यवस्थापनका विषयमा छलफल भएको उनले जानकारी दिए। आम नागरिकले दुःख नपाउने गरी सुकुम्वासी समस्या समाधानका कदमहरूलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल केन्द्रित रहेको उनको भनाइ छ।

भेटका क्रममा राष्ट्रिय राजनीति, वर्तमान परिस्थिति र आगामी कार्यदिशाका विषयमा पनि दुई नेताबीच संवाद भएको उनले बताए। प्रधानमन्त्रीसँगको छलफल सुमधुर र परिणाममुखी रहेको बताउँदै सभापति लामिछानेले राजनीतिक सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामीले सम्पूर्ण विषयमा, विशेषगरी सुकुम्वासी समस्या समाधान गर्न आवश्यक कदमहरू कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्‍यौँ। कतै आम नागरिकले दुःख नपाऊन् भन्ने विषय र त्यसको व्यवस्थापनप्रति हामीले अझ बढी चिन्ता व्यक्त गर्दै त्यसअनुसार काम गरेका छौँ। अन्य विभिन्न उठेका विषयहरूमा पनि हामीले घनीभूत रूपमा छलफल गर्‍यौँ। राष्ट्रिय राजनीतिको अवस्था, विभिन्न समसामयिक परिस्थिति, आगामी बाटो तथा दुई शीर्ष नेताबीच हुने राजनीतिक छलफलबारे पनि विस्तृत रूपमा कुराकानी भयो।’