काठमाडौं– रास्वपाका सांसद विपिन आचार्यले संसदको समीक्षा हुनुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सांसदहरू सही दिशामा छौँ कि छैनौँ यी सबै विषयको समीक्षा गर्न आग्रह गरेका हुन् ।
सरकारको सय दिन पुगेपछि त्यसको समीक्षा हुने अभ्यास रहेको र संसदको हकमा हनिमुन पिरियड भनेको नसुनिने उनले बताए ।
‘संसद सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो सांसदहरूको संशोधनका कारण विधेयकहरू कति समृद्ध भए ? संसदीय समितिहरूले कति काम गरे ? संसदमा शून्य, विशेष र आकस्मिक समयमा उठेका प्रश्नहरूको सम्बोधन कति भए ? सांसदहरूको प्रस्तुति कस्तो रह्यो ?,’ सांसद आचार्यले भने, ‘नियमावलीको उल्लंघन सत्तापक्ष र प्रतिपक्ष सांसदबाट कति भयो ? ती उल्लंघनलाई संसदले कसरी लियो ? संसदको गरिमा बढ्दो क्रममा छ कि घट्दो क्रममा छ ? एउटा शसक्त र समृद्ध संसद कस्तो हुन्छ ? हाम्रो मिहिनेत पुगेको छ कि छैन ? हामी सही दिशामा छौँ कि छैनौँ यी सबै विषयको समीक्षा गर्न आग्रह गर्दछु ।’








