काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसहित नेताहरूसँग बिहीबार छलफल गर्दै संविधान संशोधनको बहसपत्र १-२ दिनमै सार्वजनिक गरिने जानकारी दिएका छन्।
भेटमा प्रधानमन्त्री शाह र अध्यक्ष लिङ्देनसहित पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङ र राप्रपा सचेतक खुश्बु ओली सहभागी थिए।
भेठमा संविधान संसोधनको बहसपत्रसहित स्थगित स्वास्थ्य बिमा कार्यक्रम, कृषि मल आपूर्ति, तथा सुकुम्बासी व्यवस्थापन लगायत समसामयिक राष्ट्रिय विषयमा छलफल भएको राप्रपाकी सांसद् ओलीले जानकारी दिइन्।
स्वास्थ्य बीमा नहटाएको हुन्थ्यो भन्ने राप्रपा अध्यक्ष लिङ्देनको भनाइमा प्रधानमन्त्री शाहले उक्त कार्यक्रम अस्थायी रूपमा बन्द गरिएको बताएको ओलीले जानकारी दिइन्।
ओलीका अनुसार स्वास्थ्य बीमा प्रणालीभित्र देखिएका विकृति, अनियमितता र दुरुपयोगलाई सुधार गर्ने उद्देश्यले हाललाई अस्थायी रूपमा मात्र रोकिएको प्रधानमन्त्री शाहले बताएका थिए। सरकारले आवश्यक सुधारपछि स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा ल्याइने बताएको छ।
किसानहरुको समस्याप्रति ध्यानाकर्षण गराउँदै राप्रपा अध्यक्ष लिङ्देनले मलको समस्या उल्लेख गरेका थिए। युरिया मलको आपूर्तिबारे सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको र किसानलाई पुस माघसम्म अभाव हुन नदिने गरी पर्याप्त मल उपलब्ध गराउने तयारी भइरहेको जानकारी प्रधानमन्त्री शाहले दिएका थिए।
सुकुमबासी व्यवस्थापन सम्बन्धमा तामाङले गराएको ध्यानाकर्षणमा प्रधानमन्त्रीले वास्तविक सुकुम्बासी र गैर सुकुम्बासीलाई छुट्याएर व्यवस्थापन गर्ने नीति लिएको जानकारी दिएका थिए। स्थानान्तरण गरिएका परिवारका लागि अघिल्लो अवस्थाभन्दा व्यवस्थित बसोबासको व्यवस्था गरिएको तथा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र विद्यालय जाने बालबालिकाको विशेष हेरचाह गरिने प्रतिबद्धता प्रधानमन्त्री शाहले व्यक्त गरेका थिए। जेनजी आन्दोलनका घाइतेहरुको उपचार तथा सरकारी रेखदेखका लागि गृहमन्त्री सुधन गुरुङलाई जिम्मेवारी दिइएको प्रधानमन्त्री शाहले बताएका थिए।
सांसद् ओलीले कार्यपालिका र संसदबीच पर्याप्त संवाद र समन्वयको अभाव देखिएको विषय भेटमा उठाएकी थिइन्। प्रभावकारी संवादको कमीले अनावश्यक राजनीतिक जटिलता सिर्जना हुन सक्ने धारणा राख्दै प्रजातान्त्रिक शासन व्यवस्थामा, प्रधानमन्त्री संसदप्रति, संसद सदस्यहरूसँग नियमित संवाद कायम राख्नुपर्ने आवश्यकता ओलीले ओँल्याएकी थिइन्। संवादले नै देश र जनतालाई उर्जा र दिशा दिन सक्ने कुरा राख्दा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएको ओलीले बताइन्।







