images
images

समयमै संरक्षण नहुँदा ध्याम्पेसाल–देउराली–ताकु सडकमा ठूलो पहिरो, आवतजावत जोखिमपूर्ण

गोरखा – बारपाक सुलिकोट गाउँपालिका–अन्तर्गत पर्ने ध्याम्पेसाल–देउराली–ताकु सडक को पन्द्रुङ कुनामा गएको ठूलो पहिरोले सडकमा गम्भीर क्षति पुर्‍याएको छ।

लगातारको वर्षापछि सडकको एक भाग भासिएको छ भने विभिन्न स्थानमा गहिरा चिरा परेपछि आवतजावत जोखिमपूर्ण बनेको छ।गाउँपालिकाका अनुसार उक्त सडकमा सुरुदेखि नै चिरा पर्ने, भासिने तथा पहिरोको जोखिम देखिएको थियो। त्यसबारे पटक–पटक पूर्वाधार विकास कार्यालय, गोरखा लाई लिखित तथा मौखिक रूपमा जानकारी गराउँदै आवश्यक संरक्षण र मर्मतका लागि आग्रह गरिए पनि समयमै काम नभएको जनाइएको छ।

निरन्तर वर्षासँगै सडकको आधार कमजोर बन्दै गएपछि अन्ततः ठूलो पहिरो खसेर सडकको संरचनामा व्यापक क्षति पुगेको गाउँपालिकाको भनाइ छ। स्थानीयवासीले पनि सुरुमै रोकथामका उपाय अपनाइएको भए अहिलेको अवस्था सिर्जना नहुने बताएका छन्।

हाल सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको छ। जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाएर मात्रै आवतजावत गर्न आग्रह गरेको छ।
बारपाक सुलिकोट गाउँपालिकाले सडकको तत्काल प्राविधिक अध्ययन, पहिरो नियन्त्रण तथा दीर्घकालीन संरक्षणका काम अविलम्ब अघि बढाउन सम्बन्धित निकायसँग पुनः माग गरेको छ।

स्थानीयवासीले पनि सडकलाई सुरक्षित बनाउन ढिलाइ नगरी आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन्।