images
images

श्रावण सोमबार: पशुपतिमा दर्शन व्यवस्थापनका लागि सुरक्षा निकायको समन्वय बैठक सम्पन्न

काठमाडौं – श्रावण महिनाका प्रत्येक सोमबार भगवान् श्री पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा–आराधनाका लागि आउने लाखौं श्रद्धालु भक्तजनहरूको सहज, सुरक्षित तथा मर्यादित दर्शन सुनिश्चित गर्न पशुपति क्षेत्र विकास कोषले सुरक्षा तथा व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

यसै सन्दर्भमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौं महानगर प्रहरी तथा पशुपति क्षेत्र विकास कोषको सुरक्षा टोलीबीच समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा दर्शन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, भीड नियन्त्रणलाई व्यवस्थित गर्ने, सुरक्षा सतर्कता अभिवृद्धि गर्ने तथा सम्बन्धित निकायहरूबीच आवश्यक समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य राम शोवित नायकले श्रावण सोमबारमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुरक्षालाई उच्च प्राथमिकतामा राखी आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिनुभयो। उहाँले दर्शन प्रक्रियालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकाय, स्वयंसेवक तथा सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय कायम गरिएको बताउनुभयो।

परिषद् सदस्य नायकले दर्शनका लागि आउने श्रद्धालु भक्तजनलाई सकेसम्म सुन तथा बहुमूल्य गरगहना नलगाई आउन, अत्यधिक भीडभाडका कारण सानो उमेरका बालबालिकालाई साथमा नल्याउन तथा सुरक्षा निकाय र स्वयंसेवकहरूले दिने निर्देशनको पूर्ण पालना गर्न हार्दिक अनुरोध गर्नुभयो। उहाँले सबैको सहयोगबाट मात्र श्रावण सोमबारको दर्शनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सकिने उल्लेख गर्नुभयो।

पशुपति क्षेत्र विकास कोषले श्रावण महिनाभर दर्शनार्थीहरूको सुविधालाई मध्यनजर गर्दै आवश्यक सुरक्षा, भीड व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गरिने जनाएको छ।

साथै, श्रद्धालु भक्तजनलाई संयमता अपनाई धार्मिक मर्यादा कायम राख्दै दर्शन गर्न कोषले अनुरोध गरेको छ।