काठमाडौं — बढ्दो जलवायु परिवर्तन, प्रदूषण र हरियालीको कमीले विश्व समुदाय चिन्तित भइरहेका बेला काठमाडौंमा लायन्सकर्मीहरूले वातावरण संरक्षणको सशक्त सन्देश दिएका छन्। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (नेपाल) अन्तर्गत बागमती एरिया ले शनिबार तारकेश्वरस्थित लायन्स पार्क (भ्यू टावर) मा वृक्षरोपणसँगै संरक्षणलाई केन्द्रमा राख्दै विशेष हरित अभियान सञ्चालन गरेको हो।
सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको लायन्सले यसपटक वातावरणीय उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न जातका बिरुवा रोप्नुका साथै यसअघि रोपिएका बिरुवाको गोडमेल, सरसफाइ र संरक्षणको कामसमेत सम्पन्न गरेको छ। कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न लायन्स क्लबका पदाधिकारी, सदस्य, युवा स्वयंसेवक तथा स्थानीय वातावरणप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अभियानमा सहभागीहरूले वृक्ष रोप्नु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै बिरुवालाई हुर्काउने र दीर्घकालसम्म संरक्षण गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताए। उनीहरूका अनुसार हरियाली विस्तारले स्वच्छ हावा, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा प्रत्यक्ष योगदान पुर्याउनेछ।
आयोजकले वातावरणीय चुनौती बढ्दै गएको वर्तमान अवस्थामा नागरिकस्तरबाट सुरु हुने यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार यो अभियान एकदिने कार्यक्रम मात्र नभई आगामी दिनमा पनि नियमित रूपमा बिरुवाको हेरचाह, संरक्षण र थप हरित क्षेत्र विस्तार गर्ने योजनाको निरन्तरता हो।

लायन्सले विगतदेखि नै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक सेवासँगै वातावरण संरक्षणलाई पनि आफ्नो प्रमुख अभियानका रूपमा अघि बढाउँदै आएको छ। यही प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक संस्थाहरू पनि दिगो विकास र वातावरण संरक्षणका प्रभावकारी साझेदार बन्न सक्छन् भन्ने सन्देश दिएको सहभागीहरूको भनाइ छ।
कार्यक्रमले “आज रोपिएको एउटा बिरुवा, भोलिको सुरक्षित वातावरण” भन्ने सन्देश प्रवाह गर्दै नागरिकलाई हरियाली संरक्षणमा सक्रिय सहभागिताका लागि प्रेरित गरेको छ।








