images
images

वर्तमान राजनीतिमा राज्य निर्देशित अराजकता र नीतिहीनता बढ्योः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीति दिशाहीन, नीतिहीन र विधिहीन ढङ्गले अगाडि बढिरहेको टिप्पणी गरेका छन्।

आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा अराजकता र संवैधानिक मर्यादाको उल्लंघन भइरहेको बताएका हुन्।

उनले एमाले अहिले सडक र सदन गरी दुई वटा मोर्चामा संघर्षरत रहेको बताए। सडक आन्दोलनमा केही धक्का लागेको स्वीकार गर्दै उनले सडक र संसदीय संघर्ष एकअर्काका पूरक भएको उल्लेख गरे।

लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक र कानुनी बाटाहरू हुने भए पनि वर्तमान सरकारको प्रारम्भ नै षडयन्त्र र अराजकताबाट भएको ओलीको दाबी छ। उनले पछिल्लो समय लोकप्रियतावादका नाममा भद्दा प्रयास भइरहेको र यसले सामाजिक शिष्टतालाई चुनौती दिएको बताए।

सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति फैलाएको उनले बताए। नेपालको राजनीतिमा अहिले दुई वटा विचारबीच द्वन्द्व रहेको चर्चा गर्दै उनले हालको सरकारले आफूलाई क्रान्ति र आन्दोलनको उपज बताए पनि वास्तवमा विध्वंश र असंवैधानिक जगमा उभिएको आरोप लगाए।

विगतमा प्रधानन्यायाधीशले सरकारको नेतृत्व गर्ने र संसद् विघटन हुनेजस्ता घटनाक्रमले संवैधानिक पद्धतिलाई कमजोर बनाएको उनको तर्क छ।

उनले विश्व राजनीति नै थितिहीन अवस्थामा पुगेको उल्लेख गर्दै नेपालमा पनि राज्य निर्देशित अराजकता र कानुनविहीनताको अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताए। लोकतन्त्रलाई जनमतबाट नभई अलोकतान्त्रिक विधिबाट निर्देशित गर्न खोजिएको उनको आरोप छ।