काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धनका निम्ति संविधान संशोधन आवश्यक रहेको बताएका छन्।
पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रको आधारभूत मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता मान्य नहुने बताए।
समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा पूर्ण समर्थन रहने तर यसलाई सङ्कुचित पार्ने वा नागरिकले प्राप्त गरेका अधिकारहरू कटौती गर्ने कार्य कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे।
संविधानका अन्य पक्षहरूमा भने छलफल र परिमार्जन गर्न सकिने उनको भनाइ छ। विशेषगरी शासकीय स्वरूपको विषयमा भइरहेका बहसहरूप्रति सङ्केत गर्दै उनले यसमा खुला छलफल गर्न कांग्रेस तयार रहेको जानकारी दिए।
पछिल्लो समय सडक र विभिन्न राजनीतिक वृत्तमा चर्चामा रहेको प्रत्यक्ष निर्वाचित कार्यकारीको मागका सन्दर्भमा उनले आफ्नो अनुभवका आधारमा यस विषयमा विमर्श गर्न सकिने बताए।
उनले भने, ‘समावेशितालाई थप सुदृढ बनाउने विषय स्वीकार्य छ, तर त्यसलाई सङ्कुचित गर्ने वा नागरिकले प्राप्त गरेका अधिकार कटौती गर्ने कुरा स्वीकार्य हुन सक्दैन। यी विषयबाहेकका अन्य मुद्दामा भने हामी खुला छलफल गर्न तयार छौँ। संविधान संशोधनको बहसले शासकीय स्वरूपको विषय पनि उठाउँछ। अहिले विशेषगरी युवापुस्तामाझ प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा बहस भइरहेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि समय–समयमा यो विषय उठाउँदै आएका छन्। यसबारे मेरो अनुभवका आधारमा पनि केही धारणा छन्।’








