काठमाडौं, — लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के, नेपालको लायन वर्ष २०२६/२७ अन्तर्गत आयोजित दुईदिने एड्भाइजरी काउन्सिल बैठक चितवनको रिजेन्ता रिसोर्टमा सम्पन्न भएको छ।
बैठकले आगामी कार्यकालका प्राथमिकता, रणनीति र सेवा कार्यक्रमलाई केन्द्रमा राख्दै घोषणापत्र समेत पारित गरेको जनाएको छ।
डिष्ट्रिक्ट चिफ एड्भाइजर मिनराज काफ्लेको अध्यक्षतामा भएको बैठकमा डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले हालसम्म भएका गतिविधिको समीक्षा प्रस्तुत गर्दै सदस्यता विस्तार, नेतृत्व विकास, सेवा परियोजनाको प्रभावकारिता तथा क्लब सुदृढीकरणलाई आगामी वर्षको मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए। उनले सबै क्लबलाई समुदायमुखी र परिणाममुखी सेवा अभियान सञ्चालन गर्न आग्रह गरे।
बैठकमा पूर्व डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल काउन्सिल कोअर्डिनेटर सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुहरि फुँयाल र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर हसन कुमार गोपालीले नेतृत्व विकास, सदस्यता वृद्धि, युवा सहभागिता र सामाजिक सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा आफ्नो धारणा राखेका थिए।
कार्यक्रमका संयोजक मिनराज काफ्लेले एड्भाइजरी काउन्सिलले डिष्ट्रिक्टको नीति निर्माण र मार्गनिर्देशनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बैठकबाट पारित निर्णयले आगामी कार्यकाललाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बैठकमा डिष्ट्रिक्टका क्याबिनेट पदाधिकारी, पूर्व गभर्नर तथा विभिन्न क्लबका नेतृत्वसहित ८५ जना लायन्स सदस्यको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट पीआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठले गरेका थिए।








