काठमाडौं -ज्येष्ठ नागरिकको हक, अधिकार तथा स्वस्थ र गुणस्तरीय दीर्घजीवनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सामुदायिक विकास संघ, वनस्थलीमा ‘गुणस्तरीय दीर्घजीवन सचेतना कार्यक्रम’ सम्पन्न भएको छ।
सामुदायिक विकास संघ, वनस्थलीको आयोजनामा सम्पन्न कार्यक्रममा दीर्घजीवनसम्बन्धी विज्ञ श्री प्रकाश गौतमले सहजीकरण गर्दै स्वस्थ आहार, नियमित व्यायाम, मानसिक सन्तुलन, तनाव व्यवस्थापन, रोगबाट बच्ने उपाय तथा सकारात्मक जीवनशैली अपनाउने विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।
कार्यक्रम वि.सं. २०६३ साल श्रावण १ गते तत्कालीन मन्त्रिपरिषद्को बैठकबाट ज्येष्ठ नागरिकका हक, अधिकार, सेवा तथा सुविधासम्बन्धी महत्वपूर्ण निर्णय भएको दिनको स्मरणमा आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा ज्येष्ठ नागरिक कल्याण समाज, वनस्थली, सामुदायिक महिला जागरण, सामुदायिक भगवतीनगर महिला समूह, लायन्स क्लब अफ बालाजु हाइट तथा लायन्स क्लब अफ बालाजु ब्राइटको सहकार्य रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका ज्येष्ठ नागरिक, सामाजिक अगुवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले स्वस्थ, सक्रिय र सन्तुलित जीवनशैलीमार्फत गुणस्तरीय दीर्घजीवनका लागि आवश्यक ज्ञान र व्यवहारलाई समाजमा प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
सामुदायिक विकास संघ, वनस्थलीका अध्यक्ष भीष्म घिमिरेले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य प्रवर्द्धन तथा गुणस्तरीय जीवनशैलीबारे सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।








