images
images

कर्णालीको पाँचौँ मुख्यमन्त्री बने मंगलबहादुर शाही

सुर्खेत– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन मंगलबारै दाबी पेस गरेका थिए ।

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ । एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १०, राप्रपा र अन्य १/१ जना सदस्य छन् ।

शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए ।

सुरुमा नेकपा र त्यसपछि कांग्रेससँगको गठवन्धनबाट कँडेल दुई वर्ष यता सरकारको नेतृत्वमा थिए । गएको ३१ असारमा कँडेल नेतृत्वको क्याबिनेटबाट कांग्रेसमा चार मन्त्रीले राजीनामा दिएपछि कर्णालीमा सत्ता समीकरणको कोर्स सुरु भएको थियो ।

आलोपालाको पूर्ववतः सहमति कार्यान्वयन नभएको भन्दै गठवन्धनबाट कांग्रेस बाहिरिएपछि कँडेलले राजीनामा दिएका थिए ।

मन्त्रीहरूको राजीनामा आएको भोलिपल्ट कांग्रेससँग मिलेर नेकपाले अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर, अन्तिममा सरकारको नेतृत्व पाउने भएपछि मुख्यमन्त्री कँडेलका विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावबाट नेकपा पछि हटेको थियो ।

मुगु जिल्लाबाट निर्वाचित शाही यसअघि प्रदेशको भौतिक पूर्वाधार मन्त्री भइसकेका व्यक्ति हुन् ।