काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशमा उत्पादित विद्युत्् खेर जाने अवस्था अन्त्य गर्न माग र आपूर्तिबीच सन्तुलन कायम गरी प्रसारण सञ्जाल अघि बढाइने बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा उनले विद्युत् खेर जाने अवस्था अन्त्य र आपूर्ति सन्तुलन कायम गर्न मन्त्रालयको स्पष्ट कार्ययोजना रहेको बताए।
‘अतिरिक्त विद्युत्लाई तेस्रो बजारमा निर्यात गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्दै जाने मार्गमा अगाडि बढेका छौँ,’ उनले भने, ‘हिजोका दिनमा विद्युत्को पहुँच विस्तार गर्नुपर्ने चुनौती थियो भने आज ग्राहकलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति चुनौतीपूर्ण देखिएको छ।’
अर्काे वर्षपछि मन्त्रालयको प्राथमिकता वितरण प्रणालीको आधुनिकीकरणमा हुने बताउँदै मन्त्री श्रेष्ठले भने, ‘उपभोक्ताले विद्युत् पाउने मात्र होइन, भरपर्दो, गुणस्तरीय र अविच्छिन्न विद्युत् सेवा पाउने अवस्था सिर्जना गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।’
उनले पुराना तथा जीर्ण संरचनाको प्रतिस्थापन, क्षमता अभिवृद्धि, स्मार्ट प्रणालीको प्रयोग, चुहावट नियन्त्रण, माग व्यवस्थापन र सेवा प्रवाहमा डिजिटल प्रविधिको विस्तार अब विकल्प नभई आवश्यकता भएको बताए।
ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि सरकारको लगानी मात्र नभएर ठूला पूर्वाधार निर्माणका लागि उल्लेख्य पुँजी आवश्यक रहेको बताउँदै मन्त्री श्रेष्ठले निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार र अन्तरराष्ट्रिय लगानीकर्ताको साझेदारीमा आयोजना अघि बढाइने जानकारी दिए।
आर्थिक वर्षमा सरकारको ध्यान प्रसारण पूर्वाधारको विस्तार र सुधारमा केन्द्रित रहेको बताउँदै मन्त्री श्रेष्ठले उत्पादन बढ्दै जाँदा उच्च विद्युत् भार बहन गर्ने प्रसारण प्रणाली कमजोर रह्यो भने उत्पादनको अर्थ नरहने बताए। –रासस








