काठमाडौं — नेपाली दुग्धजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजनाअन्तर्गत दुग्ध विकास संस्थान डीडीसी ले पहिलोपटक आफ्नो घिउ दुबई निर्यात गरेको छ। डीडीसीले शुक्रबार ६ सय किलो घिउको पहिलो खेप दुबई पठाएको हो।
डीडीसी र रातो र चन्द्र–सूर्य इन्टरनेसनल प्रालिबीच भएको सम्झौताअनुसार दुबईमा वार्षिक कम्तीमा ५० हजार किलो घिउ निर्यात गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा बजार परीक्षणका लागि ६ सय किलो घिउ पठाइएको र उपभोक्ताको प्रतिक्रिया तथा मागका आधारमा निर्यातको परिमाण बढाउँदै लैजाने तयारी छ।
दुबईमा डीडीसीको घिउ कम्पनीको सहायक संस्था मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत सञ्चालन हुने डिपार्टमेन्ट स्टोरमा बिक्री गरिनेछ। दुबईमा बिक्रीअघि उत्पादनको थप परीक्षणसमेत गरिने जनाइएको छ।
डीडीसीका अनुसार घिउको एक वर्षको उपभोग्य अवधि रहेको छ। घिउलाई जार तथा बोतलमा प्याकिङ गरी निर्यात गरिएको हो। दुबईलाई पश्चिम एसियाली बजार विस्तारको प्रवेशद्वारका रूपमा उपयोग गर्ने डीडीसीको योजना छ।
घिउसँगै आगामी दिनमा याक चिजलगायत अन्य नेपाली दुग्धजन्य उत्पादनसमेत दुबई निर्यात गर्ने तयारी भइरहेको छ। यसले नेपाली दुग्ध उत्पादनलाई खाडी मुलुकको बजारमा विस्तार गर्ने सम्भावना बढाएको छ।
नेपालले गत आर्थिक वर्षमा ३९ हजार ८५९ किलो घिउ विभिन्न मुलुकमा निर्यात गरेको थियो। उक्त निर्यातबाट नेपालले करिब ४ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो। हाल नेपाली घिउको सबैभन्दा ठूलो विदेशी बजार जापान रहेको छ।








