images
images

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रोजगारी र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय साझेदारसँग छलफल

काठमाडौं -भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रहरूमा तत्काल राहत, पुनर्निर्माण तथा रोजगारीका अवसर सिर्जना गर्ने विषयमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा प्रमुख अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधिसँग महत्त्वपूर्ण छलफल भएको छ।

आज सम्पन्न बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), विश्व बैंक (World Bank), एसियाली विकास बैंक (ADB), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) लगायतका प्रमुख अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए। छलफलमा विपद् प्रभावित क्षेत्रका श्रमिक, युवा, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा प्रभावित समुदायलाई तत्काल रोजगारीका अवसरसँग जोड्न द्रुत रोजगार सहायता कार्यक्रम (Rapid Employment Support Program) सञ्चालन गर्ने विषयमा जोड दिइएको थियो।

त्यस्तै, प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न तत्कालीन तथा दीर्घकालीन सीप विकास तालिम सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ। प्रभावित परिवारका सदस्यलाई अल्पकालीन रोजगारी सिर्जना गर्दै उनीहरूको जीविकोपार्जनलाई थप सुरक्षित, उत्पादक र उत्थानशील बनाउने तथा विगतमा सञ्चालन भएका कार्यक्रम र अनुभवलाई थप सुदृढ गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत बैठकमा छलफल गरिएको थियो। छलफललाई सम्बोधन गर्दै मन्त्री यादवले विपद्पछिको पुनर्निर्माणलाई केवल भौतिक संरचनाको पुनर्निर्माणमा सीमित नराखी प्रभावित नागरिकको आर्थिक पुनर्स्थापना र रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताउनुभयो। उहाँले पुनर्निर्माण अभियानमा युवा शक्तिको प्रभावकारी परिचालन तथा रोजगार प्रवर्द्धनमार्फत प्रभावित क्षेत्रको जनजीवन र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

सरकारले अन्तर्राष्ट्रिय विकास साझेदार, सरोकारवाला निकाय र स्थानीय समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै प्रभावित क्षेत्रको पुनर्स्थापना, रोजगारी सिर्जना र दिगो जीविकोपार्जनलाई प्राथमिकतामा राखेर आवश्यक कार्यक्रम अघि बढाउने जनाएको छ।