काठमाडौँ – विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ।
त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानलाई हराउँदै नेपालले आफ्नो एकदिवसीय वरियता जोगाउने सम्भावना लगभग निश्चित गरेको छ।
नेपालले ओमानलाई जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो। जवाफमा ओमान १ सय ५० रनमै समेटियो।
ओमानका लागि कप्तान विनायक शुक्लाले ७७ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक जतिन्द्र सिंहले १८ रन बनाउँदा जय ओडेड्राले २५ रन बनाए। अन्यको प्रदर्शन भने गतिलो रहेन।
नेपालका लागि नन्दन यादव र सन्दीप लामिछानेले ३-३ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन कुमालले ४० रन बनाउँदा इशान पाण्डेले ३७ रन बनाए। त्यस्तै, रोहित पौडेलले सर्वाधिक ६१ रन प्रहार गरेका थिए। पौडेलले यसअघि क्यानडासँगको खेलमा शतक प्रहार गरेका थिए।
मध्यक्रमले पनि दोहोरो स्कोरमा रन बनायो। बसिर अहमदले ३७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले २२ तथा सन्दीप जोराले १० रन बनाए। अन्तिम समयमा करण केसीले १६ बलमा ४० रनको विष्फोटक इनिङ्स खेल्दा नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भएको थियो।
ओमानका लागि साह फैसल, सकिल अहमद, करण सोनाभाले समान २-२ विकेट लिँदा हसिनान साहले १ विकेट लिएका थिए।
जितपछि नेपालले अंकतालिकामा ३४ खेलबाट २८ अंक बनाएको छ। नेपाल क्यानडाभन्दा ३ अंकले अघि रहँदै छैटौं स्थानमा रहेको छ।









