images
images

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष

काठमाडौं -माछापुच्छ्रे बैंक लिमिटेडको अध्यक्षमा रोशन केसी पुनः नियुक्त भएका छन्। बुधबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले केसीलाई संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित गरेको थियो।

त्यसपछि बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि अध्यक्षमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट मुकुन्द महत र कृति महतोलाई पनि निर्विरोध सञ्चालकमा निर्वाचित गरेको छ।

सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन्।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। लाभांशमध्ये ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर रहेको छ। उक्त लाभांशमा करसमेत समावेश छ।

बोनस सेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। अग्राधिकार सेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो।

पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न साधारणसभामा बैंकका संस्थापक तथा सर्वसाधारण सेयरधनीको उल्लेख्य सहभागिता रहेको थियो।