images
images

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ३ हजार ४१४ जना प्रतिनिधि सहभागिता हुने

काठमाडौँ – एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान ११ बजे भेलाको उद्घाटन गर्ने केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

जनेजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड, फागुनमा सम्पन्न निर्वाचनको परिणाम र त्यसपछि गठित सरकारका काम कारबाहीले मुलुकको राजनीतिक र लोकतान्त्रिक वातावरण थप जटिल बनाएको एमालेको दाबी छ।

एमालेले सरकारका काम कारबाहीले लोकतन्त्रका आधारभूत मूल्यमान्यता, विधिको शासन र नागरिक अधिकारमाथि प्रश्न उठिरहेको निष्कर्ष निकालेको छ। उसलेस सरकारको ‘अलोकतान्त्रिक र जनविरोधी’ कार्यशैलीले जनतामा असन्तुष्टि, निराशा र आक्रोश बढाएको दाबी गरेको छ।

मुलुकमा राजनीतिक दिशाहीनता र भविष्यप्रति अनिश्चितता गहिरिँदै गएको अवस्थामा राष्ट्रिय भेला आयोजना गर्न लागिएको आचार्यले जनाए। भेलाको उद्देश्य आगामी स्थानीय तहको निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीपङ्क्तिमा निर्णय र राजनीतिक बुझाइमा एकरूपता ल्याउन गर्न लागिएको हो।

भेलाले पार्टीमा वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने, मुलुकमा देखिएको कुशासन तथा निराशा चिर्दै आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य राखेको छ।

भेलामा मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र निर्वाचित जनप्रतिनिधिसमेत तीन हजार ४१४ जनाको सहभागिता रहनेछ। एमालेले पार्टी जीवनमा पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संसदीय फाँटदेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एकै ठाउँमा सहभागी हुने गरी राष्ट्रिय भेला आयोजना गरिएको यो पहिलो पटक हो।

भेलामा केन्द्रीय सदस्य, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका अध्यक्ष–उपाध्यक्ष, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति र पालिकाका प्रमुख–उपप्रमुख, जनसङ्गठनका प्रतिनिधि सहभागि हुनेछन्।

भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन्।

प्रशिक्षण तथा प्रस्तुति सत्रमा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारका कामको समीक्षा र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने एमालेले जनाएको छ।