images
images

यस्तो छ प्रधानमन्त्रीको २५ घन्टे दिल्ली दौडाहाको तालिका

काठमाडौं -प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिर ६ गते भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । उनी त्यसको भोलिपल्टै अर्थात् ७ गते दुईदिने राजकीय भ्रमण पूरा गरेर नेपाल फर्कने प्रारम्भिक कार्यतालिका तय भएको छ ।

यद्यपि, दुवै देशले यस भ्रमणको औपचारिक मिति तथा कार्यत्रम भने सार्वजनिक गरेका छैनन् । राजकीय भ्रमणको मिति दुवै देशले एकै पटक कम्तीमा ७२ घन्टा अघिमात्र सार्वजनिक गर्ने यसअघिको कूटनीतिक परिपाटी अनुसार नै एक दुई दिनमा सो मिति तय हुने अनुमान गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक राजकीय भ्रमणका लागि भारत जान लागेका हुन् । उनको यो भ्रमण करिब साढे २५ घण्टाको संक्षिप्त हुनेछ । तर पनि यो भ्रमण एक उच्च कूटनीतिक महत्व रहने भ्रमण हो । उनी आगामी मंसिर ६ गते दिउँसो १ः२५ मा नेपाल एयरलाइन्सको नियमित उडानमा काठमाडौँबाट दिल्ली प्रस्थान गर्ने छन् भने त्यसको भोलिपल्टै अपराह्न साढे ४ बजे काठमाडौँ अवतरण गर्नेछन् ।

यस भ्रमणका क्रममा नेपाल र भारतबीच लामो समयदेखि थाती रहेका हवाई रुट, ठूला आर्थिक सहायता प्याकेज, रेलमार्ग तथा ऊर्जा क्षेत्रका महत्वपूर्ण विषयहरूमा ठोस सहमति जुट्ने अपेक्षा गरिएको भए पनि भ्रमणका औपचारिक एजेण्डा भने तय भइसकेको छैन ।

मंसिर ६ गते अपराह्न ३ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनी औपचारिक भेटघाट र कार्यक्रमहरुमा नै व्यस्त रहने प्रारम्भिक कार्यतालिका रहेको छ ।

उनी प्रायः यसअघिका नेपालका प्रधानमन्त्रीलाई नै राख्ने गरिएको नयाँदिल्लीस्थित ‘ताजमहल’ होटलमा नै रहने कार्यतालिका रहेको छ । उनी विमानस्थलबाट सिधै सो होटलमा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहले सोही दिन साँझ भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरुको यो भेट भने प्रधानमन्त्री शाह बसेकै होटलमा हुनेछ ।

यो भेट औपचारिक  र शिष्टाचार तथा छुट्टाछुट्टै हुने पनि तय गरिएको छ । प्रधानमन्त्री शाहलाई उनको सम्मानमा सोही साँझ नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको छ । उनी सो भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहको सम्मानमा पनि यसअघिका नेपाली प्रधानमन्त्रीलाई जस्तै राष्ट्रपति भवनमा औपचारिक ‘गार्ड अफ अनर’ प्रदान गरिनेछ । सो समारोहमा उनका भारतीय समकक्षी नरेन्द्र मोदीसमेत सहभागी हुनेछन् । सो कार्यक्रम भ्रमणको मुख्य दिन अर्थात् मंसिर ७ गते बिहान राखिएको छ ।

सो गार्ड अफ अनरपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिसँगको उक्त भेटवार्तापछि मात्र राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

त्यसपछि उनी बसेकै होटलमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । भ्रमणको मुख्य कार्यक्रम अर्थात् भारतीय प्रधानमन्त्रीसँगको द्धिपक्षीय वार्ता यसपछि राखिएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता हुनेछ ।

प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको तथा प्रारम्भिक भनिएको सो कार्यतालिका अनुसार सुरुमा भारतीय समकक्षी मोदी र प्रधानमन्त्री शाहबीच ‘वान अन वान’ (एक्लाएक्लै) भेटवार्ता हुनेछ । करिब आधा घन्टाजति सो भेटवार्ता हुने पनि तय भएको छ ।

त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलस्तरीय औपचारिक द्विपक्षीय बैठक बस्नेछ र सो बैठक पनि करिब आधा घन्टाको नै हुनेछ । सो बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तर सो कार्यक्रमको मोडालिटी भने अझै पास भएको छैन ।

यसअघिका नेपालका प्रधानमन्त्रीहरुको भ्रमणमा सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले पत्रकारहरूसँग अन्तक्र्रिया गर्ने र प्रश्नोत्तर सत्र पनि हुने गरेको थियो । यस पटक त्यस प्रकारको प्रेस मिट गर्ने कि प्रधानमन्त्रीहरुले संयुक्त सम्बोधन मात्र गर्ने भन्ने बारेमा तय भइसकेको छैन ।

यी सबै औपचारिक भेटवार्ताहरू सम्पन्न भएपछि भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि त्यहाँ उपस्थित पत्रकारहरुलाई त्यस भ्रमणका बारेमा ब्रिफिङ गर्ने कार्यक्रमा पनि रहेको छ ।

सम्भवत विदेश सचिव मिश्रीले नै दुवै देशका पत्रकारहरुलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएकाले प्रधानमन्त्रीहरुसँग पत्रकारहरुको प्रश्नोत्तर नहुन पनि सक्ने परराष्ट्र मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शाह मंसिर ७ गते अपराह्न ४ः३० बजे नेपाल एयरलाइन्सकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्रमन्त्री शिशिर खनालका अतिरिक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पर्यटनमन्त्री खड्कराज पौडेललगायत जाने निश्चित भएको छ भने अरु मन्त्रीको अझै निश्चित भएको छैन ।

यस पटकको भ्रमणको भ्रमण टोलीमा बढीमा सरकारी खर्चमा जाने बढीमा १५ जना मात्र राख्न प्रधानमन्त्री कार्यालयको निर्देशन रहेको बुझिएको छ । त्यस बाहेक उद्योगी व्यवसायी तथा अन्य अधिकारीहरुको खर्च भने भारत सरकारले बेहोर्ने गरी काम भइरहेको बुझिएको छ ।