काठमाडौं -अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभागले २७२ कर्मचारीको सरुवा निर्णय रद्द गरेको छ।
विभागले गत २० कात्तिकमा ६९ जना अधिकृत र २०३ जना नायब सुब्बालाई विभागअन्तर्गतका विभिन्न कार्यालयमा सरुवा गरेको थियो। तर, सरुवा प्रक्रिया पारदर्शी र न्यायोचित नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री वाग्लेले उक्त निर्णय तत्काल रद्द गर्न निर्देशन दिएका थिए।
अर्थमन्त्रीको निर्देशनपछि निमित्त अर्थसचिव डा। सुमन दाहालले सोमबार भन्सार विभागलाई सरुवा निर्णय रद्द गर्न लिखित पत्राचार गरेका थिए। त्यसपछि विभागले यसअघि गरिएको सरुवा निर्णय खारेज गरेको हो।
अब मन्त्रालयले प्रविधिमैत्री प्रणाली विकास गरी निर्धारित मापदण्डका आधारमा नयाँ सरुवा प्रक्रिया अघि बढाउने भएको छ। यसैगरी, सरुवा प्रक्रिया अपारदर्शी भएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गर्न पनि अर्थमन्त्रीले मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका छन्। मन्त्रालयले यस विषयमा आन्तरिक छानबिनसमेत सुरु गरेको छ।









